यस वर्ष हिउँदमा किन परेन पानी ? यस्तो रैछ कारण !

रामेछाप खबर संवाददाता

काठमाडौं ।

यस वर्षको हिउँद सकिन अब दुई साता मात्रै बाँकी छ । तर पानी पर्ने छाँटकाँट छैन । जल तथा मौसम पूर्वानुमान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज र भोलि सामान्य बदलीको सम्भावना रहे पनि पानी नै पर्ने सम्भावना छैन ।

पछिल्लो ३० वर्ष हिउँदयाममा औसतमा ६०.२ मिलिमिटर वर्षा भएको देखिन्छ । तर यो वर्ष औसत वर्षा पनि भएन । फेबु्रअरी १६ तारिकसम्मको तथ्यांकअनुसार नेपालभर यस वर्ष १०.२ मिलमिटर पानी परेको छ ।

हिउँदमा पर्ने पानीमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहन्छ । तर यो वर्ष पानी पार्ने यस्ता प्रणाली कमजोर रहेको मौसमविद् अधिकारी बताउँछन् । ‘औसतमा पनि पानी नपर्नुमा एउटा मात्रै नभएर धेरै कारण हुन सक्छन् । त्यो अध्ययनकै पाटो हो,’ उनले भने, ‘मुख्यतः यस पटक पश्चिमी न्यून चापीय प्रणालीहरू पर्याप्त संख्यामा पनि बनेन र भएका प्रणाली पनि कमजोर बने । अब प्रणालीमा उल्लेख्य सुधार आएर पानी पर्छ भन्ने सम्भावना छैन ।’

उनका अनुसार, यो वर्ष ‘ल्यानिना’को प्रभाव थियो । मनसुनको समयमा ‘ल्यानिना’ हुँदा औसतभन्दा धेरै पानी पर्ने अनुसन्धानले देखाएको छ । तर हिउँदको समयमा ‘ल्यानिना’ हुँदा कम पानी पर्छ भनेर भनिन्छ । यद्यपि, नेपालमा यसबारे पर्याप्त अध्ययन अनुसन्धान भएको छैन । अधिकारीका भनाइमा यसलाई पनि पानी नपर्नुमध्येको एउटा कारण मान्न सकिन्छ ।

के हो लानिना ?

मौसम पूर्वानुमान महाशाखाले यस वर्षको हिउँदमा सरदरभन्दा कम पानी पर्ने आकलन गरेको थियो । विभागअन्तर्गतको हावापानी विश्लेषण महाशाखाका मौसमविद् सुरेन्द्र हुमगाईंका अनुसार, यो अनुमान गर्ने बेलामा प्रशान्त महासागरमा लानिनाको असर थियो ।

अहिले त्यो लानिनाको अवस्था तटस्थतिर जाँदै गरेको उनले बताए । प्रशान्त महासागरमा हुने लानिनाको अवस्थाले नेपालमा हुने हिउँदे वर्षालाई कम गर्छ। लानिनाको अवस्थाका कारण पश्चिमी वायुको प्रभाव नेपालमा कम पर्छ । यसरी मेडिटेरेनियन सागरबाट आउने पश्चिमी वायुको प्रभाव नेपालमा कम परिसकेपछि नेपालमा पानी परेन ।

प्रशान्त महासागरको तापक्रम पूर्वी तटीय क्षेत्रमा तातो भयो भने एलिनो र पश्चिमी तटीय क्षेत्रमा तातो भएमा लानिना भनेर बुझिन्छ । प्रशान्त समुन्द्र सतहको तापक्रम सामान्यभन्दा केही चिसो भयो भने त्यो लानिनाको अवस्था हो भनेर बुझ्नुपर्छ ।

२३ वर्षमा कम पानी परेको आठौं वर्ष

यो वर्ष सुदूरपश्चिम र उत्तरी प्रदेशका पहाडी भूभागहरूमा मात्रै वर्षा भएको छ । त्यो पनि सरदरभन्दा कम छ । गण्डकी प्रदेश र त्योभन्दा पूर्वतिरका भू–भागमा पानी खासै परेको छैन । फेबु्रअरी १६ तारिकसम्मको तथ्यांकअनुसार नेपालभर १०.२ मिलमिटर पानी परेको छ । सामान्यतया ३०.७ देखि ७१.२ मिलिमिटर हाराहारीमा पानी पर्यो भने सरदर मानिन्छ ।

सन् २००० पछिको तथ्यांक हेर्दा नेपालमा सरदरभन्दा कम पानी परेको यो आठौं वर्ष भएको हुमगाईंले बताए । उनका अनुसार, पछिल्ला वर्षहरू हेर्ने हो भने सन् २०१६, २०१७, २०१८ र २०२१ मा पनि लगातार सरदरभन्दा कम पानी परेको थियो । त्यस्तै, २०१९ र २०२० र २०२२ मा सरदरभन्दा धेरै पानी परेको देखिन्छ । यसलाई सामान्य प्रक्रियाकै रूपमा लिनुपर्ने हुमगाईंको भनाइ छ ।

हिउँदमा पानी कम पर्दा बर्खायाममा असर पर्छ ?

यस पटक लगातार तेस्रो वर्षको लानिनाको प्रभाव परेको छ । यसलाई वैज्ञानिकहरूले ‘ट्रिपल डिप लानिना’ भन्ने गरेका छन् । हुमगाईंका अनुसार, यस्तो अवस्था एकदमै दुर्लभ मानिन्छ । विगतमा सन् २०२१, २०२२ र २०२३ मा लगातार लानिनाको प्रभाव देखिएको छ । तर यसको प्रभावले आगामी वर्खामा पनि कम या धेरै पानी पर्ने भन्नेबारे स्पष्ट सम्बन्ध नहुने हुमगाईंले बताए । अहिलेसम्मको तथ्यांक केलाउँदा हिउँदमा कम पानी हुँदा बर्खामा पनि कम पानी पर्ने सम्भावना न्यून देखिएको उनी बताउँछन् । ‘केही तथ्यांकले मात्रै हिउँदमा पानी कम पर्दा वर्खामा पनि कम पानी पर्ने गरेको देखाएको छ,’ उनले भने ।