राष्ट्रपति सवारी भएको समयमा हिँडेको भन्दै ट्रमा सेन्टरका डाक्टरमाथि प्रहरीको कुटपिट !

रामेछाप खबर संवाददाता

२८ माघ, काडमाडौं ।

प्रहरीको लाठी चार्जबाट ट्रमा सेन्टरका चिकित्सक जनिथलाल सिंह घाइते भएका छन्। शुक्रबार राष्ट्रपति सवारी भएको समयमा हिँडेको भन्दै प्रहरीले डाक्टर सिंहलाई कुटपिट गरेको हो।

शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी बानेश्वरस्थित संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्न गएकी थिइन्। सम्बोधन गरेर फर्किने क्रममा बाटो खाली गराइएको थियो। त्यही बेला वीर अस्पतालबाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए।

बाटो खाली गराइएको बेलामा हिँडेको भन्दै प्रहरीले सिंहलाई कुटपिट गरेको हो। उनको टाउकोमा चोट लागेको छ।

घटनाको विरोधमा त्यहाँका चिकित्सकहरूले प्रर्दशन गरिरहेका छन्। ट्रमा सेन्टर अगाडिको सडकमा चिकित्सकहरूले प्रर्दशन गर्ने क्रममा चिकित्सक र प्रहरीबीच भनाभन पनि भएको थियो। सडक पनि केहीबेर अवरूद्ध भएको थियो।

डाक्टरको कार्ड देखाएर हिँड्न समेत नदिइएको उनीहरूले बताएका छन्। विरोधमा उत्रिएका स्वास्थ्यकर्मीले घटनामा संलग्न प्रहरीले डाक्टरसँग माफी माग्नुपर्ने माग राखेका छन्।

प्रदेशको नामकरण नहुँदा लज्जाबोध भएको छ : मुख्यमन्त्री कार्की
प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारलाई मितव्ययी र विकासमुखी बनाउन आफू लागिपरेको बताउनुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ४९औँ जिल्ला सभा अधिवेशनमा मुख्यमन्त्री कार्कीले प्रदेश संरचनाप्रति आलोचना भइरहेकाले प्रदेश सरकारलाई जनतामुखी बनाउन आफू लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले कार्यभार सम्हालेपछि पहिलो बैठकमै नौवटाभन्दा बढी मन्त्रालय नबनाउने निर्णय गरेको छु ।” प्रदेश सरकार सञ्चालनका लागि सातभन्दा बढी मन्त्रालय आवश्यक नभएको मुख्यमन्त्री कार्कीको भनाइ छ ।

प्रदेश सरकारप्रति सकारात्मक आलोचनाको समेत गर्न मुख्यमन्त्री कार्कीले आग्रह गर्नुभयो । प्रदेश सरकारको संचरना बनाउने कामसमेत बाँकी रहेकाले संरचना बनाउने काम अघि बढाइएको उहाँले बताउनुभयो । मुख्यमन्त्री कार्कीले छिट्टै प्रदेशको नामकरण गरिने बताउनुभयो । “पाँच वर्षसम्म प्रदेशको न्वारन हुन सकेन”, उहाँले भन्नुभयो, “प्रदेशको नामकरण हुननसक्दा मलाई लज्जाबोध भइरहेको छ ।” प्रदेशको नामकरणका लागि सबैको सुझाव, सल्लाह आवश्यक रहेकोसमेत उहाँले बताउनुभयो ।

कार्यक्रममा रेवतीरमण नेपाल स्वयम्सेवा सम्मानबाट तीनजनालाई सम्मानित गरिएको छ । सम्मानित हुनेमा नारायण ढुङ्गाना, दिव्यप्रसाद भुर्तेल र तुलसी काफ्ले रहनुभएको छ । नगद रु ११ हजार, सम्मानपत्र र दोसल्ला ओढाएर मुख्यमन्त्री कार्की, पुरस्कारका संरक्षक वेदकुमारी नेपाल र रेडक्रस झापाका सपभाति लोकराज ढकालले उहाँहरुलाई सम्मानित गर्नुभएको थियो । यस्तै जिल्लामा धेरै रक्तदान गर्ने विरता लेडी जेसिज, तेरापन्थ युवा परिसद् र विराट अर्जुन उपभोक्ता सहकारीलाई प्रशंसापत्र प्रदान गरिएको छ ।