पेट्रोल र डिजेलमा प्रतिलिटर ३ रुपैयाँका दरले बढ्यो मूल्य

रामेछाप खबर संवाददाता

२३ माघ, काडमाडौं ।

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको छ ।

निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको र निगमलाई घाटा रहेकाले पेट्रोल र डिजेलमा प्रतिलिटर ३-३ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यससँगै डिजेल र पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ । नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।

सङ्खुवासभामा राष्ट्रिय परिचयपत्रका लागि सतासी हजारको विवरण सङ्कलन
सङ्खुवासभामा राष्ट्रिय परिचयपत्रका लागि ८६ हजारभन्दा बढीको विवरण सङ्कलन भएको छ । राष्ट्रिय परिचयपत्र वितरणका लागि सङ्खुवासभामा ८६ हजार नौ सय ६० जनाको विवरण सङ्कलन भइसकेको राष्ट्रिय परिचयपत्र वितरण शाखाका प्रमुख आशा जबेगुले जानकारी दिनुभयो ।

राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालय खाँदबारी र इलाका प्रशासन कार्यालय चैनपुरबाट विवरण सङ्कलन भइरहेको छ । सङ्खुवासभामा राष्ट्रिय परिचयपत्रका लागि २०७६ साल साउन ३ गतेदेखि विवरण सङ्कलन थालिएको हो । सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि दोस्रो चरणमा प्रदेश १ का सङ्खुवासभा र झापाबाट विवरण सङ्कलन सुरु गरेको थियो । राष्ट्रिय परिचयपत्रका लागि जिल्लाका १० वटा स्थानीय तहमा पुगेर डाटा सङ्कलन गरिएको थियो । स्थानीय तहमा छुट भएका तथा नयाँ नागरिकता र राहदानीका लागिसमेत राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।

पछिल्लो समय नागरिकता र राहदानी बनाउनेको सङ्ख्या वृद्धि भएसँगै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको सङ्ख्या वृद्धि भएको छ । परिचयपत्र विवरण सङ्कलनमा व्यक्तिको नाम, थर, जन्ममिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नीको नाम, बाजेको नाम, दश औँलाको छाप, नागरिकता नं, फोटो, राष्ट्रियता, हस्ताक्षर आदि आवश्यक पर्ने वितरण शाखा खाँदबारीका प्रमुख जबेगुले बताउनुभयो । परिचयपत्र निर्माणका लागि नागरिकता, विवाह दर्ता, बसाइँसराइ कागजको सक्कल आवश्यक पर्ने बताइएको छ । हालसम्म जिल्लामा दुई सय ४५ जनाको राष्ट्रिय परिचयपत्र बनिसकेको छ ।