बजारबाट झण्डै १ खर्ब बराबरका नोट ‘गायब’, कहाँ थुप्रिएको छ पैसा?

रामेछाप खबर संवाददाता

२३ माघ, काडमाडौं ।

राष्ट्र बैंकले नेपालमा मनाइने ठूलो चाड दसैँअगाडि १० अर्ब रुपैयाँ बजार पठायो। तिनमा साना दरका नोट समावेश थिए।

अब फेरि उसले ४ खर्ब ३० अर्बको हजारको नोट बजारमा पठाउने तयारी गर्दै छ। यसमा ठूलो दरको नोट अर्थात् एक हजार दरको ४ खर्ब ३० अर्ब रुपैयाँबराबरको ४३ करोड नोट बजारमा जानेछ। यी नोट हाल छपाइकै क्रममा छन्।

यसरी निरन्तर बजारमा पैसा गइरहे पनि पछिल्लो समय नोटको परिचालन (सर्कुलेसन) भने घट्दै गएको देखिएको छ। यसलाई स्वयं केन्द्रीय बैंकले स्वीकारेको छ।

राष्ट्र बैंककै अनुसार करिब २ वर्षयता बजारमा नोट परिचालनको अवस्था घटिरहेको छ।

‘२०७८ असारमा ७ खर्ब १३ अर्ब बराबरका रुपैयाँ बजारमा थिए’, केन्द्रीय बैंकको तथ्यांकले भन्छ, ‘त्यो अहिले ६ खर्ब १५ अर्बमा खुम्चिएको छ।’

यसअनुसार करिब खर्ब रुपैयाँ आकारमा नेपाली पैसाको सर्कुलेसन घटेको छ।

किन घट्यो ‘मनी सर्कुलेसन’?
हुन त विश्व बजारमा नै अहिले नोट अर्थात् भौतिक पैसाको परिचालन कम भइरहेको छ।

डिजिटल मुद्राको प्रयोगदेखि अनलाइन भुक्तानीसम्मका अभ्यास बढ्दै गएपछि नोट परिचालनमा कमी आएको देखिएको छ। फलतः कतिपय देशले त नोट छपाइ नै घटाउँदै लगेका छन्।

नेपालमा पनि यो ‘ट्रेन्ड’को प्रभावस्वरुप पछिल्ला केही वर्षयता नोटको सर्कुलेसन विस्तारै घटिरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकका अनुसार पछिल्लो समय बजारमा नोटको समग्र फ्लो (प्रवाह) कमी हुँदै गइरहेको छ। नोट भुक्तानीमा नै ह्रास आउँदा यसो भएको हो।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल त्यसमा धेरै कारणहरु रहेको बताउँछन्।

उनले बजारमा पैसाको माग नै नहुँदा सर्कुलेसन घट्ने गरेको उल्लेख गरे।

‘डिमान्ड (माग) हुन तपाईंको खातामा पैसा हुनुपर्छ, सोहीअनुसार खर्च गर्नुपर्छ। बैंकले सर्वसाधारणलाई पैसा दिन्छन्, उनीहरुले राष्ट्र बैंकबाट लिन्छन्। अहिले जनताले खर्च गर्नयोग्य पैसाको कमी छ’, उनले नेपालखबरसँग भने।

अहिले उद्योगपतिदेखि व्यापारीहरुसँग समेत धेरै पैसा नरहेको उनले बताए। भएको पैसा पनि पनि उनीहरुले बैंक खाताबाट नचलाउँदा सर्कुलेसनमा त्यसको केही प्रभाव देखिएको उनको भनाइ छ।

त्यसबाहेक नेपालको अहिलेको आर्थिक अवस्थाले पनि पैसा चलायमान हुनसकेको छैन। जसकारण पनि नोटको सर्कुलेसनमा गिरावट आएको उनी बताउँछन्।

कार्यकारी निर्देशक नेपालले थपे, ‘पैसा चलायमान भएको छैन। धेरै खर्च नगरौँ, लगानी पनि माहोल हेरेर गरौँ भन्ने छ। त्यसकारणले पनि पैसा धेरै चलायमान गर्ने क्षेत्रहरुले पनि गरिरहेका छैनन्।’

बढेको ब्याजदर, डिजिटल बैंकिङदेखि अन्य फ्याक्टरसम्म मुख्य कारण
यीबाहेक अहिले बैंकहरुको बढेको ब्याजदरले पनि सर्कुलेसनमा असर गरेको देखिएको छ।

हाल निक्षेपको ब्याजदर समेत बढेकोले मानिसहरुले आफूसँग भएको पैसा पनि खर्च गरिरहेका छैनन्। त्यस्तै डिजिटल बैंकिङका विभिन्न माध्यमहरु अनलाइन भुक्तानी तथा क्यूआर कोड प्रयोगले गर्दा पनि सर्कुलेसन कम भइरहेको छ।

यसबाहेक नेपालीहरुले विदेशी मुद्रा धेरै खर्च गर्दा पनि नेपाली पैसाको सर्कुलेसनमा कमी आएको राष्ट्र बैंक बताउँछ।

जस्तो कि वस्तु आयात गर्दा विदेशी मुद्रा खर्च गर्नुपर्छ। विदेशी मुद्रा खर्च गर्नको लागि नेपाली नोटसँग विदेशी नोट राष्ट्र बैंकसँग सटही गर्नुपर्छ। त्यसले सिधै बजारमा नेपाली नोटको सर्कुलेसन कम पार्छ।

तर नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल भने पछिल्लो समय सर्कुलेसनमा धेरै गिरावट आउनुमा अनलाइन भुक्तानीको विषय नजोडिने बताउँछन्।

उनी भन्छन्, ‘अनलाइन भुक्तानी बढेको छ, त्यो मान्छौं तर अहिलेको अर्थतन्त्र यति निष्क्रिय हुनथालेको छ कि त्यो भयानक छ। त्यसको एक सूचक मनि सर्कुलेसन हो।’

उद्योगी व्यापारी तथा राष्ट्र बैंकले उल्लेख गरेका कारणहरु वा अन्य कारणबाट सर्कुलेसन नभएर डम्प भएको नोट भने राष्ट्र बैंकमा गएर थुप्रिएको छ।

कहाँ थुप्रिएको छ बजारबाट ‘हराएको’ नोट?
खासगरी कुनै बैंक तथा वित्तीय संस्था, सहकारी वा अन्य संस्थाहरुमा गएर बसेको र सर्वसाधारणको हातमा रहेको पैसालाई मात्रै बजारमा सर्कुलेट भएको पैसाको रुपमा लिइन्छ। ती ठाउँमा रहेका पैसालाई सक्रिय मुद्रा मानिन्छ। त्योभन्दा बाहेक डम्प भएर बस्ने भनेको नेपाल राष्ट्र बैंकमा हो।

नेपाल राष्ट्र बैंकमा डम्प भएर बस्ने पैसाको लागि नोट कोष र नोट स्टक नामकरण गरिएको स्टोर रहेको छ। त्यहाँ गएर नोटहरु बसिरहेको हुन्छ।

नेपाल राष्ट्र बैंकको देशभर गरेर नोट कोष ८० स्थानमा छ। ८ वटा क्षेत्रीय कार्यालय र अन्य स्थानमा ७२ वटा नोट कोष छन्। त्योभन्दा बाहेक केन्द्रीय कार्यालयमा नोट स्टक नामक नोट जम्मा हुने ठाउँ छ। कुल ८१ स्थान रहेको राष्ट्र बैंकले जानकारी दिएको छ।
त्यहाँ गएर अहिले करिब चलायमान हुन नसकेको १ खर्ब रुपैयाँ बसेको छ।

कस्तो छ अहिले डिजिटल भुक्तानीको अवस्था?
नेपाल राष्ट्र बैंकका अनुसार अहिले डिजिटल भुक्तानीको माध्यम १५ वटा छन्। ती १५ माध्यममध्ये पेमेन्ट सिस्टम अप्रेसन (पीएसओ) महत्वपूर्ण भुक्तानी माध्यम हो। यसमा १० वटा फरक–फरक कम्पनीहरु छन्।

त्यस्तै पेमेन्ट सर्भिर प्रोभाइडर २७ वटा छन्। पीएसपी एजेन्ट प्रयोगकर्ता १३ हजार २ सय छन्। वालेट युजर १ करोड ५५ लाख छन्। डेबिट कार्ड युजर १ करोड १९ लाख छन्। त्यस्तै क्रेडिट कार्ड युजर २ लाख ७० लाख छन्। प्रिपेड कार्ड युजरको संख्या १ लाख २६ हजार छ।

मोबाइल बैंकिङ कस्टुमर १ करोड ९७ लाख छ। इन्टरनेट बैंकिङ ग्राहक १६ लाख छन्। त्यस्तै आरटीजीएस भुक्तानीमा सहभागी हुने ५० वटा छन् भने कनेक्ट आईपीएसमा सहभागी हुनेको संख्या ९ लाख ७४ हजार छ।

त्यस्तै ईसीसी मेम्बर ५९ र आईपीएस मेम्बर भएर डिजिटल भुक्तानी गर्नेको संख्या १ सय १४ छन्। नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्याङ्कअनुसार असार महिनामा सबैभन्दा धेरै भुक्तानी भने आरटीजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणालीबाट भएको छ।

यो प्रणाली भनेको एक बैंक खाताबाट अर्को बैंक खातामा वास्तविक समयमा रकमान्तर अर्थात् फण्ड टान्सफर गर्ने स्वचालित विद्युतीय भुक्तानी प्रणाली हो।

यस प्रणालीबाट मंसिर महिनामा मात्रै २४ खर्ब रुपैयाँको कारोबार भएको छ। ईसीसी प्रणालीबाट ४ खर्ब, आईपीएसबाट १ खर्ब ५३ अर्ब, कनेक्ट आईपीएसबाट २ खर्ब ९८ अर्ब, इन्टरनेट बैंकिङबाट ११ अर्ब, मोबाइल बैंकिङबाट १ खर्ब ६० अर्ब रुपैयाँ कारोबार भएको छ।
पछिल्लो समय इन्टरनेट भुक्तानीको रुपमा विभिन्न कम्पनीहरु खडा भइरहेका छन्।

त्यस्तो वालेट कम्पनीबाट असार महिनामा १७ अर्ब रुपैयाँको कारोबार भएको राष्ट्र बैंकले बताएको छ। क्यूआर बेस पेमेन्ट १९ अर्ब रुपैयाँ कारोबार भएको छ। यो तथ्यांक चालू आर्थिक वर्षको मंसिर मसान्तसम्मको हो।