रवीलाई देखाएर एमालेसंग गठबन्धन ताेड्ने प्रचण्डको तयारी

रामेछाप खबर संवाददाता

१६ माघ, काठमाडौं ।

प्रमख सत्तारूढ दल नेकपा एमालेकाे समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड अहिले एमालेबाटै टाढिन विभिन्न बाहाना खाेजिरहेका छन् । केही दिनयता राष्ट्रपति र गृहमन्त्री पदको विषयलाई लिएर सत्ता गठबन्धनमा विवाद चर्किएको छ । कतिपयले यी दुई विषयमा भइरहेका विवादलाई वर्तमान सत्ता समीकरणमा फेरबदल ल्याउने षडयन्त्रका रूपमा समेत अर्थ्याउन थालेका छन् । सत्ता साझेदार दलहरूभित्र भुसको आगोझैँ फैलिरहेको यो विवाद र बहसमा सरकारमा सहभागी पहिलो ठुलो दल एमाले र सरकारको नेतृत्व गरेको दोस्रो ठुलो दल माओवादी केन्द्र प्रत्यक्ष रूपमा जोडिएका छन् ।

फागुनमा हुने राष्ट्रपति पदको निर्वाचनमा नेकपा एमाले पुस १० को सहमति अनुसार आफ्नो पार्टीको हुनुपर्ने अडानबाट टसमस भएको छैन भने माओवादी केन्द्रले राष्ट्रपति सकभर एमालेबाहेकबाट छान्नुपर्ने अडान बाहिर ल्याएको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले राष्ट्रपतिमा एमालेले उठाउने उम्मेदवारमा बाहेक राष्ट्रिय सहमति हुनसक्ने सम्भावना नरहेको बताइसकेका छन् ।

अध्यक्ष ओलीको यो चाहाना र अभिव्यक्तिविपरित स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने राष्ट्रपतिमा राष्ट्रिय सहमतिका आधारमा सबैलाई स्वीकार्य पात्र खोज्नुपर्ने पक्षमा छन् । माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा भएको छलफलमा समेत माओवादीका अधिकांश नेताहरूले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने अडान राखेका छन् । यसले प्रचण्डलाई समेत राष्ट्रिय सहमतिका लागि पार्टीभित्रै दबाब परेको छ । नेपाली कांग्रेसले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने धारणा सार्वजनिक गर्नु र त्यसमा माओवादीको टोन मिल्न गएपछि आफ्नो पहलमा बनेको सत्ता समिकरण भत्किने हो कि भन्ने त्रास नेकपा एमालेलाई परेको छ । त्यही भएर एमाले राष्ट्रपतिका सवालमा पुस १० मा भएको सहमतिबाट दायाँबायाँ गर्न नहुने पक्षमा छ ।

यता सरकारलाई विश्वासको मत दिएर नेपाली काँग्रेसले गुन लगाएकाले पनि प्रधानमन्त्री प्रचण्ड कांग्रेसको चित्त दुखाइहाल्ने पक्षमा छैनन् । किनभने साढे २ वर्षपछि सरकारको नेतृत्व समेत एमालेले गर्ने हुँदा त्यसबेला राष्ट्रपति, प्रधानमन्त्री र सभामुख समेत एमालेकै हुने भएकाले एमालेले संविधानविपरीत पुन संसद विघटन गर्छ की ? भन्ने त्रास प्रधानमन्त्री प्रचण्डलाई छ । प्रचण्डलाई जस्तै यही त्रास कांग्रेसमा पनि देखिन्छ । त्यसैले एमालेलाई साइजमा राख्न भएपनि प्रधानमन्त्री प्रचण्ड सकभर एमालेबाहेकको व्यक्ति राष्ट्रपति बनाउन चाहन्छन् ।