प्रमोद खरेल सहभागी कन्सर्टको भीडमा नौ जना घाइते, कार्यक्रम स्थगित

रामेछाप खबर संवाददाता

१४ माघ, काठमाडौं ।

धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी ना जनाभन्दा बढी घाइते भएका छन्। घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ।

अत्यधिक भीडका कारण दर्शकहरू घाइते भएको र घाइतेहरूको उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिए। घाइतेहरूको विवरण र क्षतिबारे सबै जानकारी प्राप्त नभएको कलाकार संयोजन समितिका संयोजक रिदम श्रेष्ठले जानकारी दिए। आजका सबै कार्यक्रम स्थगन भएको आयोजकले जनाएको छ।

‘प्रथम मेयर रनिङ शिल्ड’ प्रतियोगिता सम्पन्न
काठमाडौँको तारकेश्वर नगरपालिकाद्वारा सञ्चालित ‘प्रथम मेयर रनिङ शिल्ड’ प्रतियोगिता सम्पन्न भएको छ । ‘खेल तारकेश्वरको, सन्देश एकताको’ भन्ने मूल नाराका साथ माघ १२ गते सुरु भएको उक्त प्रतियोगिता आज सम्पन्न भएको हो ।

समापन कार्यक्रममा नगरप्रमुख महर्जनले नगरपालिकाभित्र लुकेर रहेका खेलाडीको प्रतिभालाई बाहिर ल्याउनका लागि उक्त प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले हरेक विद्यालयका विद्यार्थीलाई एकापसमा जोड्नका लागि खेलकुद प्रतियोगिताले सहयोग पुगेकोे बताउनुभयो ।

उक्त प्रतियोगितामा तारकेश्वर नगरपालिकाभित्रका ३४ सामुदायिक तथा संस्थागत विद्यालयका एक हजार नौ सय विद्यार्थीको सहभागिता रहेको थियो । फुटबल, भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सलआर्ट गरी पाँच विधामा भएको उक्त प्रतियोगितामा हिमरश्मी हाइस्कुल प्रथम भएको छ । हिमरश्मी स्कुलले १२ स्वर्ण, पाँच रजत र नौ काश्य पदक जितेको छ ।

प्रथम भएसँगै हिमरश्मी स्कुलले रु एक लाख नगदसहित शिल्ड र प्रमाणपत्र हात पारेको छ । यस्तै दोस्रो लालीगुँरास नेशनल एकेडेमी भएको छ । सो एकेडेमीले आठ स्वर्ण, चार रजत र छ कास्यपदक जितेको छ । दोस्रो भएको सो एकेडेमीले रु ६० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।

तेस्रो किन्डर गार्डेन स्कुल भएको छ । सो स्कुलले पाँच स्वर्ण, दुई रजत र दुई काश्य हात पारेको छ । सो स्कुलले रु ४० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी सान्त्वना एन्जल हार्ट माविले पाएको छ । सो माविले चार स्वर्ण, पाँच रजत र तीन काश्य हात पारेको छ । सान्तना पुरस्कारस्वरुप सो माविले रु २० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको हो ।

‘प्रथम मेयर रनिङ शिल्ड’ प्रतियोगिता सञ्चालनका लागि सो नगरपालिकाले रु ३५ लाख बजेट विनियोजन गरेको थियो । उक्त प्रतियोगितामा १८ वर्ष कम उमेर समूहका विद्यार्थीको सहभागिता रहेको थियो ।