अटेर गर्दा रविले गुमाए सबथोक

रामेछाप खबर संवाददाता

१३ माघ, काठमाडौं ।

सञ्चार क्षेत्रमा राम्रो छवि बनाएका पत्रकार हुन् रवि लामिछाने। टेलिभिजन कार्यक्रममार्फत देश तथा विदेशमासमेत रहेका नेपालीले खेप्नु परेको समस्या उठाएर उनी सेलिब्रिटी बनेका थिए।

सञ्चारकर्मबाट पाएको अथाह मायालाई उनले राजनीतिक दलमा रुपान्तरण गरेर अगाडि बढ्ने योजना बनाएका थिए। सामाजिकदेखि विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तिलाई साथ लिएर रविले ७ असारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दल घोषणा गरे।

रास्वपाको अहिलेसम्म केन्द्रीय समितिले पूर्णता पाएको छैन। रास्वपाका एक पदाधिकारीका अनुसार २४ जनामात्रै केन्द्रीय सदस्य छन्। असार पहिलो साता नयाँ दल खोलेका रविले ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभाको चुनावमा ऐतिहासिक सिट जित्यो।

गठन भएको ६ महिनामै रास्वपाले सभापति रवि लामिछानेसहित प्रत्यक्षमा ७ सिट जित्यो। ११ लाख बढी मत पाएर समानुपातिकमा पनि १४ सिट जित्न सफल भयो।

राजनीतिक दलको इतिहासमै सबैभन्दा छोटो समयमा उनले दल र आफूलाई सफलताको शिखरमा पुर्‍याए। सरकार बनाउन निर्णायक मानिएको सिट संख्या रहेकैले रवि आफैँले कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेतासँग संवाद गरिरहेका थिए।

अन्ततः उनी एमाले–माओवादी सहितका गठबन्धन दलमा जोडिए। ११ पुसमा उपप्रधान तथा गृहमन्त्री बनेर पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी भए। आफ्नो दलका तर्फबाट दुई मन्त्रालय लिन सफल भए।

यसरी एकपछि अर्काे गर्दै सफलता चुमिरहेका रविलाई सर्वाेच्च अदालतको शुक्रबारको फैसलाले ठूलो झ्ड्का दिएको छ।रवि लामिछानेले खारेज भइसकेको नागरिकता बोकेको भन्दै अदालतले उनको सांसद पद खारेज गरिदिएको छ।

नागरिकता खारेज भएपछि उनले गठन गरेको दलको सभापति पद पनि गुमाएका छन्। यस्तै उपप्रधान तथा गृहमन्त्री पनि गुमाएका छन्। यति मात्र होइन् रवि नेपाली नागरिक नै रहेनन्, गैरनागरिक भए।

हुन त उनलाई नागरिकता पुनप्राप्ति गर्ने अवसर छ, तर, त्यसका लागि केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।