१० माघ, काठमाडौं ।
भूकम्पपछि बाजुरामा ढुङ्गाले लागेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका–२ आगरकी ३५ वर्षीया जमुना रोकाया रहेकी छिन् ।
घाँस काट्न गएकी रोकायाको भीरबाट खसेको ढुङ्गाले लागेर मृत्यु भएको स्थानीय प्रेमबहादुर रोकायाले जानकारी दिनुभयो । घाँस ल्याएर घर फर्किने क्रममा ढुङ्गाले टाउकोमा लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको हो ।
भूकम्पबाट २५ घरमा क्षति
बाजुराको स्वामीकार्तिक गाउँपालिकको मेला केन्द्र बिन्दु भइ आज दिउँसो २ बजेर ४३ मिनेटमा गएको पाँच दशमलव नौ रेक्टरको भूकम्पबाट जिल्लाका विभिन्न ठाउँमा गरी २५ घरमा क्षति पू¥याएको छ । भूकम्पबाट एकजना घाइते भएका छन् । भूकम्पबाट गौमुल गाउँपालिका–१ अम्लिसका रामदल बोहरा घाइते भएका छन् ।
प्रहरी नायव उपरीक्षक सूर्य थापाका अनुसार भूम्कपबाट बडिमालिका नगरपालिका, हिमाली गाउँपालिका र गौमुल गाउँपालिकामा विभिन्न व्यक्तिका घरमा क्षति पुगेको छ । भूकम्पबाट बडिमालिका–२ भौनेरास्थित सत्यवादी माविको भवनसमेत भत्केको छ । भूकम्पपछि जिल्लाको टेलिफोन सेवा अवरुद्ध छ । भूकम्पबाट भएको क्षतिको थप विवरण आउन बाँकी रहेको डिएसपी थापाले बताउनुभयो ।
अनलाइनलाई नियमित अभिमुखीकरण गरौँ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नयाँ अनलाइनलाई जस्तै चलिरहेका अनलाइनका सञ्चालक/सम्पादकलाई पनि नियमित अभिमुखीकरण गर्न सुझाव दिनुभएको छ । आज प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमणका क्रममा मन्त्री शर्माले काउन्सिलले दिने आचारसंहितासम्बन्धी प्रशिक्षण र अभिमुखीकरणलाई अझै व्यापक र प्रभावकारी बनाउन सुझाव दिनुभयो ।
प्रेस काउन्सिलले पछिल्लो समय नयाँ अनलाइनका सञ्चालक र सम्पादकलाई अभिमुखीकरण कक्षा सञ्चालन गर्दै आएको छ । मन्त्री शर्माले सञ्चार मन्त्रालयले आमसञ्चारसँग जोडिएका विषयसँग सम्बन्धित रहेर काम गर्ने बताउनुभयो ।
आमसञ्चार क्षेत्रलाई आचारसंहिताको पालनासहित थप जिम्मेवार बनाउन काउन्सिल सक्रियतापूर्वक लाग्नुपर्ने उहाँले बताउनुभयो । मन्त्री शर्माले काउन्सिल सङ्ग्रहालयमा आमसञ्चार माध्यमका प्राचीन माध्यमको संरक्षण हुने भएकाले नयाँ पुस्ताका लागि यो अति नै महत्वको काम भएको बताउनुभयो । उहाँले सञ्चारका मुद्दालाई व्यवस्थित बनाउन प्रेस काउन्सिल ऐन समसामयिक बनाउने लगायतबारे सरोकारवालासँग समन्वय हुने बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले प्रेस काउन्सिल कर्मचारी विनियमावली स्वीकृत भइसकेको र अन्य ऐन, कानुन प्राथमिकताका साथ अगाडि बढाइने जानकारी दिनुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार क्षेत्रको नियमनकारी निकायलाई प्राथमिकतामा राख्न अनुरोध गर्नुभयो । उहाँले सीमित जनशक्ति र स्रोत साधनको अभावमा पनि काउन्सिलले आफ्नो जिम्मेवारी बहन गरिरहेको स्मरण गराउँदै काउन्सिललगायत आम सञ्चार क्षेत्रका समस्या सम्बोधन गरिदिन आग्रह गर्नुभयो ।
काउन्सिलका सदस्य सचिव शङ्कर नेपालले प्रेस काउन्सिल आर्थिक प्रशासन विनियमावली शीघ्र मन्त्रालयमा पठाउने तयारी भएको हुँदा स्वीकृतिको लागि सहयोग गर्न आग्रह गर्नुभयो । काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले काउन्सिलका विषयमा संक्षिप्त जानकारीसहित समस्या र चुनौतीबारे जानकारी गराउनुभयो ।