पोखरा जहाज दुर्घटनाः पाइलटको मनोदशा देखि व्यवस्थापकीय पक्षमा शंका

रामेछाप खबर संवाददाता

२ माघ, काठमाडौं ।

२४ वर्षअघि विराटनगर–५ चाँदनी चोककी अञ्जु खतिवडाको काठमाडौं बत्तिसपुतली घर भएका दीपक पोखरेलसँग विवाह हुँदा सायदै कसैले सोचेको थियो– यो दम्पतीको जिन्दगीमा हवाई दुर्घटनाको दुर्भाग्यपूर्ण शृंखला जोडिएको छ । अञ्जुको विवाह को–पाइलट पोखरेलसँग भएको थियो, उनी नेपाली सेनाको हेलिकोप्टर उडाउँथे । बिहेको केही वर्षपछि यती एयरलाइन्सको पाइलट बनेका दीपकको सन् २००६ मा जुम्लामा जहाज दुर्घटनामा मृत्यु भयो ।

उनको निधनको १७ वर्षपछि आइतबार पोखरामा भएको यती एयरलाइन्सकै जहाज दुर्घटनामा को–पाइलट अञ्जुले ज्यान गुमाइन् । अञ्जुका भानिज–काका गोपाल रेग्मीले आइतबारको घटनाले सिंगो परिवार शोकमा डुबेको बताए । श्रीमान्को मृत्यु हुँदा अञ्जु उड्डयन पेसामा जोडिएकी पनि थिइनन् ।

ज्वाइँको निधनपछि अञ्जुलाई बुबा गोविन्दले बीएन पढाउन भारत पठाउने तयारी गरेका थिए तर उनले मानिनन् । पति वियोगको शोक खेपेर उनी अमेरिकामा पाइलट कोर्स पढ्न गइन् । अञ्जुका नजिकका नातेदारका अनुसार अञ्जुले पाइलट पढ्न खोज्दा धेरैले अनौठो मानेका थिए । छोरीको अड्डीपछि गोविन्दले ६ वर्षकी नातिनी आफैंसँग राखेर अमेरिका पढ्न पठाएका थिए । पाइलट कोर्स सकेर फर्केपछि अञ्जु पतिको विगत जोडिएको यती एयरलाइन्समा जोडिएकी थिइन् ।

परिवारका सदस्यहरूका अनुसार विराटनगरको सेन्ट जोसेफ स्कुलबाट एसएलसी गरेकी अञ्जुले पाइलट बनेपछि काठमाडौं, भद्रपुर, विराटनगर, धनगढीलगायतका विमानस्थलमा करिब सय घण्टा उडान भरेकी थिइन् । आइतबारको काठमाडौं–पोखराको उडान उनको को–पाइलटका रूपमा अन्तिम उडान थियो । यो उडानपछि उनी पाइलट हुनेवाला थिइन् । अञ्जुका माइतीका छिमेकी एवं वडाध्यक्ष सन्तोष न्यौपानेले भने, ‘उनको सपना अधुरै रह्यो ।’

साइरन बजाउँदै हुइँकिएका एम्बुलेन्स, दमकल र शववाहनको ओहोरदोहोरले आइतबार पोखरा अशान्त बन्यो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दृश्य हृदयविदारक थियो । दुर्घटनामा ज्यान गुमाएकाको शव संकलन गरेर प्रतिष्ठानमा पुर्‍याइएको थियो । जहाज दुर्घटना भएदेखि नै यात्रु र चालक दलका आफन्त प्रतिष्ठानमा जम्मा भइसकेका थिए । कोही आफ्ना आफन्त सकुशल आउने आशामा थिए, कोही शवको पर्खाइमा । पोस्टमार्टम भवनतर्फ शव बोकेर वाहन आउनेबित्तिकै उनीहरू झुम्मिन्थे । भवनभित्र शववाहन प्रवेश गराउनै हम्मेहम्मे हुन्थ्यो ।

कोही प्रांगणमा बिलौना गरिरहेका थिए, कोही आफ्ना आफन्तलाई पुकारिरहेका थिए । तालचोककी निशा गुरुङको मन थामिएन । उनका बुबा बेलमान र आमा सीता गुरुङ त्यही जहाजबाट पोखरा आउँदै थिए । दुवैको अत्तोपत्तो थिएन ।

सिजनल कामदार भिसामा बेलायत गएर ६ महिनामा फर्किएका बेलमानलाई लिन शुक्रबार सीता काठमाडौं गएकी थिइन् । आइतबार बिहान छोरी निशासँग बुबाआमाको सम्पर्क भएको थियो । घरसम्म पुग्नलाई विमानस्थलमा ट्याक्सी पुगिसकेको थियो । ट्याक्सी चालकले फोन गर्दा सम्पर्क हुन सकेन । त्यतिबेलै विमान दुर्घटनाको समाचार सार्वजनिक भयो । निशाको मनमा चिसो पस्यो । बुबाआमा चढेकै जहाज दुर्घटनामा परेको उनले चाल पाइन् ।

माछापुच्छ्रे गाउँपालिकाको भुर्जुङखोलाका बेलमान ५ लाख रुपैयाँ खर्चिएर बेलायत गएका थिए । अरू साथी भिसा थपेर बसे पनि उनी ६ महिनामै फर्किए । बेलमानकी जेठी छोरी निशाले दुई वर्षअघि श्रीमान् गुमाएकी थिइन् । कोरोना संक्रमणबाट उनका श्रीमान्को निधन भएको थियो । श्रीमान् गुमाएको दुई वर्षमै आमाबुबा गुमाइन् । निशा पनि सिजनल भिसामा बेलायत जान प्रक्रिया चालिरहेको उनका आफन्त भूपेन्द्र गुरुङले बताए । ‘श्रीमान् बितेपछि बुबाआमाकै साथसहयोग थियो,’ उनले भने, ‘बुबाआमा नै गुमाएपछि सम्हाल्नै सकेको छैन ।