देउवालाई बालकृष्णले दिएको त्यो ‘क्लु’, जसले गठबन्धन जोगिन्थ्यो

रामेछाप खबर संवाददाता

३० पुस, काठमाडौं ।

नेपाली कांग्रेसमा बालकृष्ण खाण कुशल रणनीतिकार हुन् । १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई जिताउन होस् वा गठबन्धन सरकारको गृहमन्त्रीका दलहरुबीच बेला बेला देखिने तिक्तता मेटाउन उनले खेलेको मध्यस्थताकारी भूमिकाले यसलाई पुष्टि गरिसकेको छ ।

नेपाली राजनीतिमा हुने सत्ता दाउपेच र विभिन्न शक्ति तथा नेताको स्वभावबारे परिचित खाण विकसित परिवेशको मूल्यांकन गरेर हुनसक्ने सम्भावित गतिविधिको पूर्वानुमान गरेर सचेत पार्ने सामथ्र्य राख्थे । ४ मंसिरमा सम्पन्न निर्वाचनपछि कांग्रेस र माओवादीसहितको पाँच दलीय गठबन्धनमा भावी सत्ता समीकरणबारे बहस चर्कियो ।

राष्ट्रपतिले सात दिनको समय दिएर सरकार गठनको आह्वान गरिन । प्रधानमन्त्रीको पहिलो दलको हिसाबले कांग्रेस सभापति शेरबहादुर देउवाको स्वभाविक दाबी थियो । तर गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि दाबी गरेका थिए ।

छैठौं दिनसम्म प्रचण्डले दाबी नछोड्दा सत्ता समीकरण अफ्ठेरो स्थितिमा पुगेको थियो । छैठौं दिन खाण आफ्नो गृहजिल्ला रुपन्देहीमा थिए । देउवाले परिस्थिति जटिल बनेको भन्दै खाणलाई काठमाडौं बोलाएका थिए । त्यही राति अन्तिम उडानबाट काठमाडौं आएका तत्कालीन गृहमन्त्री खाणले बालुवाटार पुगेर तत्कालीन प्रधानमन्त्री देउवालाई भावी सत्ता समीकरण र सत्ता गठबन्धनको भविष्यबारे आफ्नो पूर्वानुमान देउवालाई सुनाएका थिए ।

खाणले प्रचण्डलाई ‘नो’ भन्ने वितिकै बालकोटमा केपी ओलीले ‘एस’ भन्ने भन्दै सूचना दिएका थिए । प्रचण्ड कहिले प्रधानमन्त्री हुँदैनन भन्ने ओलीको अभिव्यक्ति सत्ता गठबन्धन भत्काउने चाल भएको पूर्वानुमान खाणले गरेका थिए । तर ओलीले प्रचण्डलाई कुनै हालतमा स्वीकार्दैनन भन्ने विश्वासमा रहेका देउवाले खाणको सूचनालाई महत्त्व दिएनन् ।

फलस्वरुप भोलिपल्ट सातौ दिन देउवाले नसकिने भयो भनेर नो भनेपछि प्रचण्डलाई ओलीले बालुवाटारमा स्वागतमात्रै गरेर बहुमत जुटाएर प्रधानमन्त्री बनाए । राष्ट्रपति, सभामुख र प्रदेश सरकारको महत्त्वपूर्ण पद आफ्नो पकडमा लिए । सत्ता साझेदार दलको संयन्त्रको संयोजक बनेर सत्तामा आफ्नो हैकम जमाए ।

खाणले देउवालाई कम्युनिस्टको भर नहुने, बोली एउटा र व्यवहार अर्काे हुने भएकाले त्यागका लागि विचार गर्न अनुरोध गरेका थिए । तर देउवा ओलीले नस्वीकार्ने भनेर भर पर्दा धोका खाए । ओलीले देउवालाई छक्याएर आफ्नो असली चरित्र प्रस्तुत गरे ।

यदि त्यतिखेर सभापति देउवाले खाणको सुझावलाई मनन गरेको भए सायद गठबन्धन जोगिन्थ्यो । राष्ट्र निर्माणको चाबी कांग्रेससँग हुन्थ्यो ।