राहदानी सेवा पूर्णरूपमा सुचारु, सहज प्रक्रियाका लागि गृहकार्य हुँदै

रामेछाप खबर संवाददाता

२४ पुस, काठमाडौं ।

विद्युतीय राहदानी जारी गर्ने कार्यअन्तर्गत प्रमाणीकरण प्रक्रियामा देखिएको प्राविधिक समस्या हल भएको छ । विद्युतीय राहदानीसम्बन्धी सेवाग्राहीको तथ्याङ्क प्रविष्टीपछि प्रमाणीकरण गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि यही पुस १७ गतेदेखि सेवा प्रभावित बनेको थियो । सेवा प्रभावित भएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्राविधिक टोलीले विभागको निरीक्षण तथा प्राविधिक समस्याको विश्लेषणका लागि सूचना प्रविधि शाखाका प्राविधिकलाई परिचालन गरेको थियो ।

समस्याको पहिचान गर्न प्राविधिक व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले तीन जना प्राविधिक नेपाल पठाएको थियो । प्राविधिकले प्रमाणीकरण प्रक्रियामा देखिएको समस्या हल गरेपछि सेवा सुचारु भएको हो । राहदानी विभागले आज एक सूचना जारी गर्दै विद्युतीय राहदानी वितरणमा देखिएको समस्या समाधान भएको जनाएको छ ।

राहदानीको फाराम भर्नेदेखि अन्य प्रक्रियामा लामो लाइन लाग्ने र सेवाग्राहीले सास्ती झेल्नुपर्ने अवस्था अन्त्य गर्न प्रधानमन्त्री प्रचण्डले सचिवहरूसँगको बैठकमा निर्देशन दिनुभएको थियो । सोही निर्देशनानुसार राहदानी प्राप्त गर्ने प्रक्रियालाई समस्यारहित र अझै चुस्तदुरुस्त तथा प्रभावकारी बनाउन आवश्यक प्रक्रिया अघि बढाउने विभागले जनाएको छ ।

प्रदेश नं १ को मुख्यमन्त्रीमा कार्की नियुक्त
प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले नेकपा (एमाले) प्रदेश नं १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई आज साँझ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त गर्नुभएको हो । यसअघि प्रदेश प्रमुख खापुङसमक्ष एमाले संसदीय दलका नेता कार्कीले प्रदेश १ प्रदेशसभाको कूल सङ्ख्याको बहुमत सङ्ख्याको हस्ताक्षरसहित मुख्यमन्त्रीमा नियुक्तिका लागि पत्र बुझाउनुभएको थियो ।

एमालेका ४०, नेकपा (माओवादी केन्द्र) का १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का छ र जनता समाजवादी पार्टी (जसपा) का एक गरी ६० सदस्यको हस्ताक्षरको पत्र बुझाइएको छ । प्रदेश प्रमुख खापुङलाई एमाले संसदीय दलका नेता कार्की, माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्गवो, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र जसपाका निर्मला लिम्बूको हस्ताक्षरसहित उक्त पत्र बुझाइएको थियो ।
प्र्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कार्कीलाई यही पुस २५ सोमबार दिउँसो २ बजे सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।