तीन जिल्लाका ३ महिलाको हत्या गरेका ‘सिरियल किलर’ भारतीय दम्पती पक्राउ

रामेछाप खबर संवाददाता

२४ पुस, काठमाडौं ।

अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ परेका छन् । शृङ्खलाबद्ध रूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने कार्य गर्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमतीलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले शृङ्खलाबद्ध रूपमा यही पुस १७ गते अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–१० बहखोरकी ६० वर्षीय राधा थापा, गत कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका–५ की ७५ वर्षीय जीवकला थापा र गत असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका–४ की ७० वर्षीय योगमाया गैरेको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्दप्रसाद रिजालले बताउनुभयो ।

श्रीमतीसँग मिलेर गरेको हत्यारा सुशान्तले बताएपछि उनकी श्रीमती शितगङ्गा–१० सिद्धाराकी २२ वर्षीय शिवा परियारलाइ प्रहरीले पक्राउ गरेको छ । गुल्मी, अर्घाखाँची र कपिलवस्तुमा तीनै महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने सिंह दम्पतीलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनीहरू दुवैविरुद्ध कर्तव्य ज्यान मुद्दा चलिरहेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिनुभयो ।

आन्दोलन छोडर अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्न आग्रह गर्नु भएको छ ।

सरकार कुर्मीको घटनाबारे संवेदनशील भएको भन्दै उहाँले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईवी)ले विशेष टोली परिचालन गरी छानबिन गरिरहेको जानकारी दिनुभयो । उहाँले सबै धर्ना र आन्दोलनका गतिविधि छोडेर प्रहरीको छानबिनमा सहयोग गर्न आग्रह गर्नुभएको हो । आफू मन्त्री भएपछि दुई पटक टेलिफोन गरी धर्नामा रहनुभएकी रुबी खानलाई घटनाबारे सरकार गम्भीर रहेको र दोषी पत्ता लगाउन आन्दोलन र धर्ना छोडेर प्रहरीलाई सहयोग गर्न आग्रह गरेको बताउनुभयो ।

यसअघि गत सोमबार गृहमन्त्री लामिछानेले गृह सचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत उच्च सुरक्षा अधिकारीसहितको छलफल गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिनु भएको थियो ।