कोरोनाबाट १ जनाकाे ज्यान गयाे, सक्रिय संक्रमितको संख्या २१ जना पुग्यो

रामेछाप खबर संवाददाता

२३ पुस, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको हो। यसअघि गत कात्तिक ७ गते कोरोनाबाट एक जनाको मृत्यु भएको थियो। त्यसयता कोरोना संक्रमण कम हुँदै गएको थियो भने कसैको पनि ज्यान गएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २० पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै अहिलेसम्म नेपालमा १० लाख एक हजार २० जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये नौ लाख ८८ हजार ९७९ जना निको भइसकेका छन्। आज दुई जना निको भएका छन्। अहिले देशभर २१ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अपाङ्ग र विपन्नको निःशुल्क स्वास्थ्य बीमा
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले अपाङ्ग र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । हुप्सेकोट गाउँ कार्यपालिकाको पहिलो बैठकले अपाङ्गता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाभित्रका अपाङ्गता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने प्रक्रिया अघि बढाइएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो । “गाउँपालिकाले सबै नागरिकको सहज स्वास्थ्य उपचारलाई पहिलो प्राथमिकतामा राखेको हुँदा स्वास्थ्य बीमा गर्न नसक्ने अपाङ्ग र विपन्नको गाउँपालिकाले नै बीमा गर्ने छ”, उहाँले भन्नुभयो, “कार्यविधिअनुसार गरिब तथा विपन्न परिवार पहिचान गरी स्वास्थ्य बीमामा समावेश गरिने छ ।”

निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रप्रसाद बस्यालले बताउनुभयो । सो कार्यक्रमका लागि गाउँपालिकाले चालू आर्थिक वर्षदेखि बजेटको व्यवस्था गरेको छ ।