मलेसिया सरकारले विदेशी श्रमिक भर्ना अवधि छोट्याउने

रामेछाप खबर संवाददाता

२२ पुस, काठमाडौं ।

मलेसिया सरकारले विदेशी श्रमिक भर्ती गर्ने समयावधि छोट्याउने भएको छ । अहिले विदेशी श्रमिक भर्ना गर्न दुई महिना भन्दा पनि लामो समय लाग्ने गरेको भन्दै यसलाई छोट्याएर ३० दिनभित्रै श्रमिक भर्ना गर्ने गरी काम भइरहेको द स्टारले लेखेको छ ।

मलेसियाका गृहमन्त्री दातुक सेरी साइफुद्धिनले श्रमिक भर्तीको सम्पूर्ण प्रक्रियालाई घटाउने बताउनुभएको हो । उहाँका अनुसार अब रोजगारदाताले निवेदन पेस गर्नेदेखि स्वीकृति, भिसा जारी गर्ने, स्वास्थ्य परीक्षण लगायत सबै काम एक महिनाभित्रै सकिनेछ ।मलेसियाका मानव संसाधन मन्त्री वी शीवकुमारसँगको संयुक्त बैठकमा गृहमन्त्रीले यो लामो प्रक्रियालाई छोट्याउने धेरै ठाउँहरु रहेका पनि उल्लेख गर्नुभएको छ ।

मानव संसाधन मन्त्रीसँगको बैठकमा उहाँले भन्नुभयो, ‘श्रमिक भर्नाको लागि विज्ञापन गर्नमै रोजगारदाताले पहिले एक महिना लगाउँथे, अबका दिनमा त्यो काम एक दिन मात्रै हुनेछ ।’ उहाँले यसै गरी अरु प्रक्रिया पनि छोट्याइने बताउनुभयो ।

यो वर्ष पनि मलेसियामा नेपालीको ओइरो
वैदेशिक रोजगारीमा जाने नेपाली युवाका लागि मध्यपूर्वका मुलुक र मलेसिया पहिलो गन्तव्य बन्दै आएका छन् । यी मुलुकमा हाराहारीको जस्तै संख्यामा नेपाली कामदार जाने गरेका थिए । तर यो वर्ष मलेसियामा भने नेपालीको ओइरो लागेको छ । मध्यपूर्वका कतार, साउदी, यूएईलगायतका देशमा जाने नेपालीको संख्या ५० हजार नपुग्दा मलेसियामा जानेको संख्या १ लाख ३० हजार नाघेको छ ।

यी श्रम गन्तव्यमा विगतका वर्षहरुमा यस्तो धेरै फरकमा नेपालीहरु जाने गरेका थिएनन् । यो फराकिलो अन्तर पहिलो पटक बनेको हो । पछिल्लो समय मलेसियामा नेपालीको आकर्षण बढेपछि कतार र साउदी अरब जाने युवाको संख्या घट्दै गइरहेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो कात्तिकसम्म एक लाख ३० हजार ३०९ जना नेपाली मलेसिया गएका छन् ।

गत वर्ष कात्तिकसम्म २७ हजार १ सय ३२ जनामात्र नेपाली मलेसिया गएका थिए । गत वर्षको तुलनामा यो ३७९।१३ प्रतिशत वृद्धि हो । मलेसियामा नेपालीको ओइरो लागेपछि साउदी अरब र कतार जाने नेपालीको संख्या घटेको छ ।

विगतमा पनि हावापानीका कारण मध्यपूर्वका मुलुकभन्दा मलेसिया रोजाइमा थियो । मध्यपूर्वका मुलुकमा उच्च गर्मी हुने तर मलेसियाको हावापानी काठमाडौं उपत्यकाको जस्तै भएकाले धेरैको रोजाइमा मलेसिया पर्ने गरेको थियो । तर, यो वर्ष मलेसियामा नेपालीको ओइरो लाग्ने कारण भने भिन्दै छ । मलेसियाले एकै वर्षमा लगभग २५ प्रतिशत तलब बढाएको छ ।

विगतमा न्यूनतम तलब १२ सय रिंगेट रहेकामा त्यसलाई बढाएर १५ सय पुर्याइएको हो । यो वृद्धिपछि त्यहाँ काम गर्ने नेपालीको तलब ९ हजार रुपैयाँभन्दा बढीले बढेको छ । अहिले मलेसियामा कार्यरत नेपालीको न्यून्तम पारिश्रमिक मासिक ४५ हजारभन्दा बढी पुगेको छ । मलेसियामा साधारणतयाः दैनिक २ घन्टा अतिरिक्त काम पाइन्छ ।