मौसमी कामदार : सरकारले श्रम स्वीकृति प्रदान गरी शून्य लागतमा पठाउने

रामेछाप खबर संवाददाता

२२ पुस, काठमाडौं ।

मौसमी कामदारका रूपमा नेपालीलाई विभिन्न देशमा सरकारी तवर बाटै पठाइने भएको छ । कुनै पनि देशबाट मौसमी कामदारको माग आएमा त्यो देशसँग श्रम सम्बन्ध कायम गरी सम्बन्धित पालिका र श्रम मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागबाटै आवश्यक प्रक्रिया गरी मौसमी कामदार पठाउने नयाँ व्यवस्था भएको हो ।

मौसमी कामदार व्यवस्थापन निर्देशिका २०७९ ल्याउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति नै प्रदान गरेर मौसमी कामदारका रूपमा पठाउने व्यवस्था गरेको छ ।
मौसमी कामदारका रूपमा नेपालीहरू विभिन्न तरिकाबाट विदेश उड्न थालेपछि कानुनी रूपमा नै पठाउने गरी मौसमी कामदार व्यवस्थापन निर्देशिका २०७९ ल्याइएको श्रम मन्त्रालयले जनाएको छ । यो निर्देशिका मन्त्रीपरिषदबाट समेत पास भएर कार्यान्वयनमा आइसकेको छ ।

मौसमी कामदार पठाउने प्रक्रिया
निर्देशिकाले नेपाली नागरिकले मौसमी रोजगारीको लागि वैदेशिक रोजगारीको अवसर प्राप्त गर्ने देखिएमा श्रम मन्त्रालयले सम्बन्धित देशको सरकारसँग छलफल गरी द्विपक्षीय श्रम सम्बन्ध स्थापना गर्न सक्ने व्यवस्था गरेको छ ।

नेपाल सरकारसँग श्रम सम्बन्ध स्थापना भएपछि मौसमी श्रमिक लैजान चाहने सम्बन्धित देशका स्थानीय निकाय वा संस्थाले त्यही रहेको नेपाली दूतावासमा गई कामको मागपत्र प्रमाणीकरण गर्नुपर्छ । यस अघिजस्तो विभिन्न नेपालका पालिकासँग सिधै भगिनी सम्बन्ध कायम गर्ने र श्रमिक लैजाने प्रक्रिया थाल्ने गर्न पाइने छैन ।

मागपत्र प्रमाणीकरणका लागि सम्बन्धित देशमा रहेको नेपाली दूतावासमा पेस गर्नु पर्छ । नेपाली नागरिकले त्यो देशमा गर्नु पर्ने काम, पाउने न्यूनतम सेवा सुविधा , आवास, स्वास्थ्य बिमा र सुरक्षाका साथै त्यो देशमा जाँदा लाग्ने सम्पूर्ण खर्चसमेत रोजगारदाताले नै व्यहोर्ने सुनिश्चितता भएपछि मात्र मागपत्र प्रमाणीकरण हुन्छ ।

यस्तै जाँदा मात्र होइन गन्तव्य देशमा काम सकेर स्वदेश फर्कँदासमेत रोजगारदाताले नै टिकट खर्च व्यहोर्नु पर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

मागपत्र पठाउँदा नै नेपालको कुनै खास पालिकामार्फत श्रमिक छनौट गर्ने गरी पठाउन सकिने व्यवस्था निर्देशिकाले गरेको छ । मागपत्र प्रमाणीकरण भइसकेपछि विभागले ७ दिनभित्र श्रमिक छनौट गरी सूची पठाउनका लागि सम्बन्धित पालिकालाई जानकारी गराउने छ ।

श्रमिकको छनौटको प्रक्रिया
मौसमी कामदारको माग आएपछि सम्बन्धी पालिकाले मौसमी कामदारका रूपमा जान चाहनेहरूका लागि भनेर आवेदन माग गर्दै सार्वजनिक सूचना जारी गर्ने छ । आवेदन परेका व्यक्तिहरूबाट पालिकाले जातीय, लैङ्गिक, उमेरगत लगायत विविधता कायम हुने गरी श्रमिक छनौट गरी सूची विभागमा पठाउन पर्ने छ ।

छनौट भएकाहरूको सूची विभागले समेत सार्वजनिक जानकारीको लागि प्रकाशित गर्ने छ र उनीहरूलाई विभागले नै मौसमी कामदारका रूपमा पठाउने व्यवस्था मिलाउने छ । मौसमी कामदारका रूपमा जान छनौट भएर भिसा र करार पत्रसमेत प्राप्त गरिसकेपछि विदेश उड्नुभन्दा अघि कम्तीमा दुई दिनको अभिमुखीकरण तालिम लिन पर्ने छ ।

यस्तै वैदेशिक रोजगारीमा जाने अरू श्रमिकले जस्तै मौसमी कामदारका रूपमा जाने श्रमिकले पनि कल्याणकारी कोषमा १५ सय रुपैयाँ जम्मा गर्न पर्ने छ भने बिमा पनि गर्नु पर्ने छ । यसका साथै नियम अनुसार स्वास्थ्य परीक्षणसमेत गर्नुपर्छ । स्वास्थ्य परीक्षण गरेको प्रमाण विभागको वेबसाइटमा अनिवार्य समावेश हुनै पर्छ ।

यी सबै प्रक्रिया पुरा गरिसकेपछि मौसमी कामदारकै रूपमा विभागले श्रम स्वीकृति प्रदान गर्ने छ । मौसमी कामदारको रूपमा एक पटक गएकाले त्यही रोजगारदाताकोमा फेरि पनि रोजगारी पाउने अवस्था रहेमा भने विभागले पुनः श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

पछिल्लो समय कोरियाका विभिन्न पालिकाले नेपालका केही पालिकासँग भगिनी सम्बन्ध कायम गरी मौसमी कामदार लैजान प्रयास गरेका थिए । तर नेपालमा स्पष्ट कानुनी आधार नभएकाले सहज रूपमा पठाउन सक्ने अवस्था थिएन ।

कतिपयलाई भने एजेण्टहरुले लाखौँ रुपैयाँ लिएर कोरियामा मौसमी कामदारको रूपमा पठाएका थिए । कोरियाजस्तै रोमानिया, जापान, बेलायत, कतार लगायतका देशमा समेत मौसमी कामदारका रूपमा नेपालीहरू गइरहेका छन् ।

उनीहरू कतिपय व्यक्तिगत पहलमा त कतिपय विभिन्न एजेण्टहरुलाई पैसा तिरेर गइरहेका छन् । अब भने यो निर्देशिकाले कानुनी रूपमा सरकारी तवर बाटै निःशुल्क जान पाउने व्यवस्था गरेको छ ।

बेलायतसहित विभिन्न देशमा मौसमी कामदारका रूपमा जानेले राम्रो कमाइ गरिरहेका छन् ।