अपडेट : समानुपातिकमा कुन दलले कति मत पाए ?

रामेछाप खबर संवाददाता

७ मंसिर, काठमाडौं ।

प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फ नेकपा माओवादी केन्द्रले पनि एक लाख मत कटाएको छ । समानुपातिकतर्फ सबैभन्दा पहिला एक लाख कटाउने दल एमाले हो भने दोस्रोमा नेपाली कांग्रेस, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी र चौथोमा नेकपा माओवादी केन्द्रले एक लाख मत कटाएका हुन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार समानुपातिकतर्फ एमालेले २ लाख ४१ हजार ५९४ मत पाउँदा नेपाली कांग्रेसले २ लाख १८ हजार ७०७, राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख ११ हजार ३९४ र नेकपा माओवादी केन्द्रले एक लाख ३६४ मत पाएको छ । राप्रपाले भने अहिलेसम्म ५७ हजार २३६ मत पाएको छ ।

काभ्रेमा मतान्तर घटाउँदै दोङ र बाँस्कोटा
काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणना अनुसार १ मा गठबन्धनको तर्फबाट नेकपा (माओवादी) केन्द्रका सूर्यमान दोङ र २ मा नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा आफ्ना मुख्य प्रतिस्पर्धीसँग मतान्तर घटाइरहेका छन् । प्रतिनिधिसभा १ नं क्षेत्रमा एमालेका रेशम लामाले पाँच हजार चार सय ८२ मतले अग्रता लिइरहनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी दोङले पाँच हजार दुई सय एक मतले पछ्याइरहनुभएको छ । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागार्इंले हालसम्म चार हजार छ सय ९६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै प्रतिनिधिसभा २ नं क्षेत्रमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका शिवप्रसाद हुमागार्इंले १२ हजार पाँच सय ९३ मतले अगाडि हुनुहुन्छ । भने उहाँका प्रतिस्पर्धी बाँस्कोटा एक सय ८ मतान्तरमा हुनुहुन्छ । जिल्लामा एक लाख ८६ हजार नौ सय ३५ मतदाताले मतदान गरेका थिए ।