७ मंसिर, काठमाडौं ।
काभ्रे–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका एमालेका नेता गोकुलप्रसाद बास्कोटाले मतान्तर घटाउन थालेका छन् । काभ्रे–२ मा कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईले १२ हजार ५९३ मत पाएका छन् । त्यसैगरी, गोकुल बाँस्कोटाले १२ हजार ४८५ मत पाएका छन् । अहिले १०८ मतले बाँस्कोटा पछि छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईले ४ हजार ६९५ मत पाएका छन् ।
महोत्तरीका चार निर्वाचन क्षेत्रमा को अगाडि ?
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ को मतगणना महोत्तरीमा जारी छ । सुस्त गतिमा बढेको मतगणनाको पछिल्लो विवरणअनुसार तीन क्षेत्रमा सत्ता गठबन्धन र एक क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवारले प्रतिनिधिसभामा अग्रता लिनुभएको छ ।
जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरका अनुसार प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा (एमाले)का लक्ष्मी महतोेले पाँच हजार दुई सय ९३ मतसहित अग्रता लिनुभएको छ । यहाँ नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल चार हजार चार सय ४० मतसहित महतोलाई पछ्याई रहनुभएको छ ।
क्षेत्र नं २ मा लोसपाका शरतसिंह भण्डारीले पाँच हजार नौ सय ६३ मतले अग्रता लिनुभएको छ । यो क्षेत्रमा एमालेका डा रामपरीक्षण यादवले दुई हजार सात सय ३५ मतले पछ्याइरहनुभएको छ ।
क्षेत्र नं ३ मा पनि लोसपाका अध्यक्ष महन्थ ठाकुर चार हजार ६ सय ७४ मतका साथ अग्रता लिइरहनुभएको छ । यहाँ स्वतन्त्र उम्मेदवार रामआधार कापरले चार हजार तीन सय ७७ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महेन्द्रकुमार राय चार हजार आठ सय नौ मतका साथ अघि हुनुहुन्छ । यस क्षेत्रमा जसपाका डा सुरेन्द्रकुमार यादव दुई हजार तीन सय ५३ मतका साथ रायलाई पछ्याइरहनुभएको छ । चारवटै प्रतिनिधिसभा क्षेत्रमा जारी मतणनाको गति सुस्त भएको उम्मेदवारका गणना प्रतिनिधिले बताएका छन् । चारवटै क्षेत्रमा प्रदेशसभा र दुवैतर्फका समानुपातिक गणना पनि सँगसँगै गरिँदैछ ।