२७ वर्षीया सोविता गौतमले जितिन् काठमाडौं-२, कति मत ल्याईन त ?

रामेछाप खबर संवाददाता

७ मंसिर, काठमाडौं ।

काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छन्। निर्वाचन आयोगले दिएको पछिल्लो मत परिणामअनुसार घन्टी चुनाव चिह्न भएकी २७ वर्षीया गौतम आफ्ना निकट प्रतिस्पर्धीलाई साढे तीन हजारभन्दा बढी मतले हराउँदै विजयी भएकी हुन्। गौतमले १५२२९ मत पाएकी छन्। उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयालले ११५५५ मत प्राप्त गरेका छन्। उनीहरूको मतान्तर ३६७४ छ।

यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेल तेस्रो स्थानमा छिन्। उनले ११४१४ मत ल्याएकी छन्। गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती चौथो स्थानमा छिन्। उनले ९४४८ मत ल्याएकी छन्। सोविता गौतमले त्रिभुवन विश्वविद्यालयको नेसनल ल कलेजबाट कानुन विषयमा स्नातक गरेकी छन्। उनले अधिवक्ताका रूपमा र पत्रकारिता क्षेत्रमा समेत काम गरेकी छन्। उनी २०५२ सालमा दोलखाको तामाकोशी गाउँपालिका जामुनेमा जन्मिएकी हुन्।
तनहुँ २ (१) मा एमालेका महत विजयी

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत तनहुँ–२ (१) मा नेकपा (एमाले)का श्यामराजा महत निर्वाचित हुनुभएको छ । आज बिहान सार्वजनिक मतपरिणामअनुसार प्रतिस्पर्धीभन्दा एक हजार सात सय ७२ बढी मत प्राप्त गरी महत प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

महतले १५ हजार छ सय ५३ मत प्राप्त गर्नुभएको तनहुँ क्षेत्र नं २ का निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिनुभयो । प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का राजेन्द्रकेशरी न्यौपानेले १३ हजार आठ सय ८१ मत प्राप्त गर्नुभयो ।

उक्त प्रदेशमा ३७ हजार सात सय ९४ मत खसेको थियो । यो प्रदेशमा व्यास नगरपालिका–५ र ६, म्याग्दे गाउँपालिका तथा शुक्लागण्डकी नगरपालिका पर्दछ । विसं २०३४ मा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएका महतले विसं २०४४ मा भएको उपनिर्वाचनमा नै राष्ट्रिय पञ्चायत सदस्यमा चुनावमा पराजय भोग्नुभएको थियो ।

महत विसं २०५४ देखि २०५९ सम्म नगरोन्मुख नमूना ढोरफिर्दी गाविसको अध्यक्ष बनेर काम गर्नुभएको थियो । नेकपा माले, मानन्धर समूह हुँदै चारपटक जिल्ला कमिटी सदस्य बन्नुभएका महत विसं २०४९ मा जिल्ला विकास समिति सदस्यमा निर्वाचित हुनुभएको थियो । महतले पर्यटकीय सहर पोखरासँग जोडिएको यस क्षेत्रलाई भौतिक पूर्वाधारसँगै सांस्कृतिक सहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।