काठमाडौँ– ७ : राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुली विजयी

रामेछाप खबर संवाददाता

७ मंसिर, काठमाडौं ।

काठमाडौँ–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न प्रतिनिधिसभा उम्मेदवारको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुलीले आठ हजार सात सय ४३ मत ल्याई विजयी हुनुभएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिनुभयो ।

दोस्रो मत नेकपा (एमाले)का उम्मेदवार श्यामकुमार घिमिरेले प्राप्त गर्नुभएको छ । उहाँले छ हजार आठ सय र लोकतान्त्रिक–वाम गणबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईले छ हजार ६३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो । यस्तै एक हजार पाँच सय ७४ मत बदर भएको छ ।

कुल २४ हजार एक सय ९८ मतगणना हुँदा काठमाडौँ क्षेत्र नं ७ मा प्रतिनिधिसभामा २९ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो । जसमा १३ जना विभिन्न राजनीतिक दल र १६ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचनअधिकृतको कार्यालयले जनाएको छ । उक्त निर्वाचन क्षेत्रमा २९ स्थानका ७१ मतदान केन्द्रमा मतदान भएको थियो । ६१ हजार दुई सय ९२ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३७ हजार छ सय ३५ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्नुभएको थियो ।

सिन्धुली–२ (२) मा माओवादीका गङ्गा विजयी
सिन्धुली–२ (२) मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का गङ्गानारायण श्रेष्ठ विजयी हुनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार श्रेष्ठले नेकपा (एमाले)का रामकुमार पौडेललाई तीन हजार दुई सय १२ मतान्तारले पछि पार्दै बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो ।

श्रेष्ठले १३ हजार एक, पौडेलले नौ हजार सात ८९ मत प्राप्त गर्नुभएको छ । मङ्गोल नेशनल अर्गनाइजेशनका तुलसी राईले दुई सय ५१, राष्ट्रिय प्रजातन्त्र पार्टीका टलकबहादुर कार्कीले एक सय ७७, जनसमाजवादी पार्टी नेपालका हेमन्त पुलामीले ७१, नेपाल मजदुर किसान पार्टीका लक्ष्मण ग्वाछाले ३१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।