छठ पूजामा पुल भत्किदा ९१ जनाको मृत्यु

रामेछाप खबर संवाददाता

१४ कार्तिक, काठमाडौं ।

गुजरातको मोरबीमा रहेको एउटा पुल भत्किँदा कम्तिमा ९१ जनाको मृत्यु भएको छ । आइतबार छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला पुल भत्किएको थियो । ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि भत्किएको थियो । क्षमताभन्दा बढी मानिस रहेका कारण पुल भत्किएको प्रारम्भिक अनुमान गरिएको छ । यस विषयमा छानबिन गर्न विशेष टोली गठन गरिएको छ ।

अहमदाबादबाट २०० किलोमिटर टाढा रहेको उक्त झोलुङ्गे पुल आइतबार आज साँझ पौने ७ बजे छठ पूजाको सन्दर्भमा केही अनुष्ठान गर्न जम्मा भएका करिब ५०० मानिसहरु भेला भएका बेला भत्किएको थियो । पुल भत्किएपछि माचु नदीमा केही मानिस हराइरहेका छन् ।फसेका केही मानिसको उद्दार गरिएको थियो ।

मृत्यु हुनेमा धेरै महिला र बालबालिका रहेको स्थानीयले बताएका छन् । ७० जनालाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ । करिब १५० वर्ष पुरानो र लोकप्रिय पर्यटकीय स्थल मोरबीको केबुल ब्रिज सात महिनादेखि मर्मतसम्भारका लागि बन्द गरिएको थियो । यो अक्टोबर २६ मा पुनः खोलिएको थियो ।

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न
मिथिला क्षेत्रमा लोक आस्थाको पर्व छठ आज बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै सम्पन्न गरिएको छ । पञ्चमी तिथिका दिन मङ्गलबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुुले आज सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन् । छठमा षष्टी तिथिमा निराहार व्रत गरिन्छ । आज बिहान मिथिला क्षेत्रमा ६ बजेर १४ मिनेट जाँदाको समयको हाराहारीमा सूर्योदय भएको छ । मिथिलामा सूर्योदयको टुङ्गो मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा गरिन्छ । यद्यपि मिथिला क्षेत्रमा आज बिहान मौसम सफा भएको हुँदा छठका बर्तालुले झलमल्ल पारिला घाम झुल्केको देखेपछि अघ्र्य दिएर पर्व सम्पन्न गरेका हुन् । यसअघि बर्तालु सूर्योदय हुनु एक घडीपूर्वदेखि नै कम्मरसम्म डुब्ने पानीमा तीन पटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरी रहेका थिए ।

पञ्चमीका दिन पनि दिनभरि निराहार उपवास बसेका बर्तालुले राति सख्खरमा पकाइएको खीरमात्र खाएका थिए । बर्तालुले पञ्चमीको ‘खरना’ विधियता लगातार करिब ३६ घण्टाको निराहार व्रतपछि आज बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै ‘भोरका अरख’ सम्पन्न गरेका हुन् । ‘भोरका अरख’ गरिएसँगै छठ पर्व समापन हुन्छ । यसपटक गत शुक्रबार कात्तिक शुक्ल त्रितीया र चौथी एकै दिन परेको थियो । बर्तालुले सोही दिन व्रत सङ्कल्प गर्दै ‘अरबाअरबाइन’ र ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका थिए । यसैगरी छठमा बर्तालुले पञ्चमीका दिन ‘खरना’ र षष्ठी तिथिका दिन आइतबार निराहार व्रतकै बीच साँझपख अस्ताउँदा सूर्यलाई पहिलो अघ्र्य दिँदै ‘सझुका अरख’ सम्पन्न गरेका थिए ।

आज बिहान अघ्र्य दिएसँगै सूर्य उपासनाको महापर्व सम्पन्न गरी बर्तालु इष्टजनसहित छठी घाटबाट घर फर्केका छन् । पर्व सकिएसँगै घरघरै प्रसाद खाने÷खुवाउने क्रम सुरु भएको छ । मिथिलामा छठको प्रसाद मानिने ठकुवा (गहुँको पिठो सख्खरमा मुछेर घ्युमा पकाइएको मिष्टान्न परिकार) विवाहित छोरी÷चेली (छोरी, दिदीबहिनी, फूपू), मित÷मितिनी र अन्य इष्टजनको घर पठाउने मैथिल परम्परा छ । मिथिलामा दुई साताभन्दा बढी चल्ने यो क्रमलाई ‘छठके सनेस’ (छठको कोसेली) भनिन्छ । यसरी पठाइने कोसेली नयाँ पकाइए पनि छठमा सूर्यलाई देखाइएको मध्ये केही मिसाएर ‘सनेस’ बनाइन्छ ।

केही दशकअघि मिथिला क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब नेपालको सन्दर्भमा राष्ट्रिय पर्व नै बनेको छ । मुलुकको राजधानी काठमाडौँ, गण्डकी प्रदेशको राजधानी पोखरासहित विभिन्न ठाउँमा केही वर्षयता उल्लासमय छठ मनाइँदै आइएको छ । पहाड, मधेसको सांस्कृतिक घुलमिलले छठ पर्वमात्र नभएर अन्य धेरै चाडपर्व साझा बन्दै गएका छन् । राष्ट्रिय एकताको भावना अझ मजबुद बन्न÷बनाउन यसले मद्दत गरेको मैथिल बुद्धिजीवी बताउँछन् ।