खाडी मुलुकसहित मलेसिया जाने कामदारबाट अनावश्यक शुल्क नउठाउन विभागको चेतावनी

रामेछाप खबर संवाददाता

२७ असोज, काठमाडौं ।

वैदेशिक रोजगार विभागले खाडी मुलुकसहित मलेसिया रोजगारीमा जाने नेपाली कामदारबाट अनावश्यक शुल्क नउठाउन चेतावनी दिएको छ। विभागले सूचना जारी गर्दै वैदेशिक रोजगारका लागि मलेसियासहित विभिन्न खाडी मुलुक जाने कामदारबाट विज्ञापनमा उल्लिखित सर्त विपरीत रकम असुलिएको देखिएकाले कारबाहीको चेतावनी दिएको हो।

वैदेशिक रोजगारमा जाने कामदारलाई अनुचित लागतको बोझबाट मुक्त गर्ने उद्देश्यसहित फ्री भिसा, फ्री–टिकटको निर्णय लागू गरिए पनि म्यानपावर व्यवसायीले कार्यान्वयन नगरेको विभागले बताएको छ।

विभागका निर्देशक कृष्णप्रसाद भुसालले जारी गरेको सूचनामा वैदेशिक रोजगारीका लागि खुला गरिएका देशमध्ये मलेसिया तथा खाडी मुलुकबाट कामदार माग भई सम्बन्धित देशमा रहेका नेपाली कूटनीतिक नियोगबाट मागपत्र प्रमाणित हुँदाका बखत फ्री भिसा, फ्री टिकटलगायत अन्य शुल्क रोजगारदाताले बेहोर्ने भनी विवरण खुलाई सम्बन्धित म्यानपावर संस्थाले कामदार छनोटका लागि पूर्वस्वीकृतिपछिका विज्ञापनमा निःशुल्क भिसा, निःशुल्क हवाई टिकट र निःशुल्क स्वास्थ्य परीक्षण तथा कुनै पनि शुल्क नलाग्ने विज्ञापन गरे पनि कामदारबाट रकम असुल्दै आएको उल्लेख छ।

कामदार छनोट पक्षपात र अनुचित रकम असुली गरिएको विषय सार्वजनिक सञ्चार माध्यममा आएकाले विज्ञापनमा उल्लेख भएअनुसार कामदार छनोट गर्न विभागले सचेत गराएको छ। सोही आधारमा नगरेको पाइएमा वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ अनुसार कारबाही गर्ने विभागको चेतावनी छ।