दशैँ तिहार नजिकिएसँगै खसीबोकाको मूल्य महँगियो, आठ हजार रुपियाँ पर्ने खसीबोकालाई १२ हजार रुपियाँभन्दा बढी

रामेछाप खबर संवाददाता

९ असोज, ताप्लेजुङ ।

दशैँ, तिहारजस्ता चाडपर्व नजिकिएसँगै ताप्लेजुङमा खसीबोका महँगिएको छ । अहिले सदरमुकाम फुङ्लिङ बजारको तोक्मेडाँडामा लाग्ने शनिबारे हाटमा बिक्री गर्न ल्याइएका खसीबोका महँगो मूल्यमा बिक्री हुन थालेका हुन् ।

चाडपर्वका समयमा मासुको खपत साथै माग पनि बढ्ने हुँदा खसीबोकाको मूल्य बढ्ने गरेको स्थानीयवासीले बताएका छन् । नियमित हाटबजारमा १० किलोग्रामको खसीबोकालाई आठ हजार रुपियाँ पर्ने गरेकामा चाडपर्वको समयमा भने उक्त तौल बराबरको खसीबोकालाई १२ हजार रुपियाँभन्दा बढी पर्ने फुङ्लिङ नगरपालिका–७ का कमल भट्टराईले बताउनुभयो ।

फुङ्लिङ बजारका डिल्ली पौडेलले चाडपर्वका समयमा स्थानीय व्यवसायी तथा किसानले आफूखुसी मूल्य बढाउने गरेका बताउनुभयो । यो समयमा खसीबोकासँगै बाख्राका पाठापाठीको मूल्यसमेत बढेको उपभोक्ता बताउँछन् । प्रतिगोटा तीन हजार रुपियाँसम्ममा पाइने पाठापाठी शनिबारे हाटमा पाँच हजार रुपियाँभन्दा बढीसम्म मूल्य पर्न थालेको छ ।

दशैँ, तिहारजस्ता चाडपर्वलाई भनेर ग्रामीण क्षेत्रमा भने स्थानीयवासीले घरमै खसीबोका पाल्ने गर्छन् । व्यापार तथा व्यावसायिक सोच राख्ने किसानले चाडपर्वको समयमा राम्रो मूल्य पाउने अपेक्षासहित खसीबोका पाल्ने गरेका छन् । उनीहरूले चाडपर्वको मौकामा राम्रो फाइदा लिनेगरी गाउँघरमा पालेका खसीबोका हाटबजारमा ल्याएर बिक्री गर्ने गर्दछन् ।

यो पनि : काठमाडौँमा ६० हजार खसीबोका बिक्री हुने
कोभिड महामारीको दुई वर्ष अघिदेखि नै चीनको स्वशासित क्षेत्र तिब्बतबाट भेडा, च्याङ्ग्रा आयात हुन छोडेकाले पनि खसीबोका महँगिएको हो । चार÷पाँच वर्षअघिसम्म चाडपर्वका समयमा टिपताला भञ्ज्याङ नाका हुँदै तिब्बतबाट भेडा, च्याङ्ग्रा आयात हुने गर्दथ्यो ।

यस वर्ष काठमाडौँ उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ। दसैँमा निजी व्यवसायी र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सो सङ्ख्यामा खसीबोका ल्याएर बिक्री गर्न लागेका हुन्।

घटस्थापनाको दिनदेखि उपत्यकामा व्यवसायीले खसीबोका ल्याएर बिक्री खुला गर्ने तयारी गरेका छन्। पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत एवं प्रवक्ता डा. चन्द्र ढकालले यो वर्ष कोरोना महामारी सामान्य भएका कारण अघिल्लो वर्षको तुलनामा बजारमा माग बढ्ने अनुमान गरिएको जानकारी दिए। यस पटक दसैँमा उपत्यकामा ५० हजारदेखि ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको उनले बताए।