पूर्वआईजीपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश गर्दै भने ‘ओलीजत्तिको राजनेता कोही पाइनँ’

रामेछाप खबर संवाददाता

६ असोज, काठमाडौं ।

नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा खनाललाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । त्यसक्रममा उनले आफु नेपाल प्रहरीको संगठनमा विभिन्न पद हुदै प्रमुख समेत भएर काम गर्दा केपी ओली जस्तो प्रधानमन्त्री कोही नपाएको बताएका छन् । पार्टी प्रवेशपछि सम्बोधनको अधिकांश समय खनालले ओलीको गुनगानमा खर्चिए । उनले आफ्नो प्रहरी सेवाकालमा ओलीजत्तिको अर्को कुनै राजनेता नभेटेको बताए ।

इन्सपेक्टर हुँदैदेखि केपी ओलीका राष्ट्रवादी कदम र अडानबाट आफू प्रभावित भएको बताएका खनालले प्रहरी संगठनमा आफू विभिन्न पदमा रहेका बेलामा अन्यायमा पर्दा ओलीलाई आफ्नो समस्या सुनाएपछि समाधान भएको पनि बताए । ‘मैले सातवटा प्रधानमन्त्री भोगे तर उहाँजस्तो राष्ट्रवादी र सत्यको पक्षमा लाग्ने प्रधानमन्त्री पाइनँ’, खनालले ओलीलाई देखाउँदै भने, ‘सिके राउत र विप्लव समूहलाई पनि शान्तिपुर्ण ढंगले मुल राजनीतिक धारमा ल्याउनुभयो ।’

थप समाचार : काठमाडौं ६ मा स्वतन्त्र उठ्ने घोषणा गरेका अब्दुस मियाँ एमाले प्रवेश
काठमाडौं क्षेत्र नम्बर ६ मा प्रतिनिधि सभा चुनावमा स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गरेका अब्दुस मियाँ नेकपा एमाले प्रवेश गरेका छन्। बिहीबार च्यासलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मियाँ लगायतलाई पार्टीमा प्रवेश गराएका हुन्।

मियाँ काठमाडौं ६ मा स्वतन्त्र उठ्ने भन्दै विवेकशील साझा पार्टी छाडेका थिए। उनी विवेकशील साझाको केन्द्रीय सदस्य र युवा संगठनको अध्यक्ष छाडेर स्वतन्त्र उठ्ने घोषणा गरेका थिए। उनलाई पार्टी प्रवेश कार्यक्रममा विवेकशील साझाका संस्थापक सदस्य भनेर चिनाइएको थियो। गत असार ११ गते मियाँले आफू काठमाडौं ६ बाट स्वतन्त्र उम्मेदवार हुने घोषणा गरेका थिए।