बालकलाई मिठाई दिएर ललाइफकाई गरी जङ्गलतर्फ लगेर चोर्न खोज्दा चारजना पक्राउ

रामेछाप खबर संवाददाता

५ असोज, काठमाडौं ।

कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न लागेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा रौतहट घर भइ कैलालीको अत्तरिया बस्दै आएका २८ वर्षीय अनिलकुमार साह, भारतको बिहारका ३३ वर्षीय पिन्टु साह, २५ वर्षीय राजकिशोर साह र २७ वर्षीय विकासकुमार साह रहेका छन् ।

“बच्चा चोर्न लागेको भन्दै गाउँलेले चारै जनालाई घेरा हालेका रहेछन्, हामीलाई खबर गरेपछि नियन्त्रणमा लिएका हौँ”, उहाँले भन्नुभयो । पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । शुक्लाफाँटा–८ का छ वर्षीय बालकलाई मिठाई दिएर ललाइफकाई जङ्गलतर्फ लैजान खोज्दा चारैजनालाई घेरा हाली नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् ।

थप समाचार : चोरीको मोटरसाइकल सहित एक जना पक्राउ
चोरी गरेको मोटरसाइकल सहित काठमाडौँको गोकर्णेश्वरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका एक घर भई बौद्ध बस्ने २७ वर्षीय पेमा तामाङ रहेका छन् ।

हराएका मोटरसाइकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निगरानी एवं खोजतलास गर्न खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नयाँबस्तीबाट उनलाई नियन्त्रणमा लिएको हो। वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०२३ प ९३४४ नम्बरको कालो रातो २२० पल्सर मोटरसाइकल चलाई रहेको अवस्थामा तामाङलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उक्त मोटरसाइकलको वास्तविक बाग्मती प्रदेश ०२–०२४ प८५५० रहेको खुल्न आएको छ। सो मोटरसाइकल काठमाडौं बालाजु बाइपासमा पार्किङ गरी राखेको ठाउँ बाट हराएको थियो । पक्राउ गरिएको व्यक्ति सहित उक्त मोटरसाइकल चोरी मुद्दा अनुसन्धान कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ ।