आज यी प्रदेशमा ठूलो वर्षाको सम्भावना, बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह !

रामेछाप खबर संवाददाता

५ असोज, काठमाडौं ।

फाईल तस्विर।
देशका धेरै ठाउँको मौसम बद्ली भएको छ । गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम पूर्ण बद्ली भएको छ भने अन्य प्रदेशको मौसम सामान्य बद्ली भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । यस्तै, राति प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । भारतको उत्तर प्रदेश र नयाँ दिल्ली आसपासमा बनेको न्यून चापीय क्षेत्रका कारण अहिले देशभरको मौसम बद्ली भएको हो ।

यहि प्रणालीका कारण दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद् श्रेष्ठले बताउनुभयो । यस्तै, राति भने उडिसा र पश्चिममा बंगालमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले पानी पर्ने उहाँको भनाइ छ । मौसमविद्ले ठूलो वर्षा हुने प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरेका छन् ।

थप समाचार : कर्णालीका ५३ प्रतिशत नागरिक परिवार नियोजनका साधनको पहुँचमा
कर्णाली प्रदेशका ५३ प्रतिशत नागरिक परिवार नियोजनका साधनको पहुँचमा रहेको पाइएको छ । परिवार नियोजनका साधनको प्रयोगदर भने ४७ प्रतिशत रहेको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका सामुदायिक नर्सिङ अधिकृत कविता खत्रीले नेपालमा छ दशक अघिदेखि परिवार नियोजनसम्बन्धी कार्यक्रमको व्यवस्थित कार्यान्वयनको सुरुआत भए पनि यसको पहुँच र प्रयोग बढ्न नसकेको बताउनुभयो । “कर्णालीमा ९० प्रतिशत नागरिकमा परिवार नियोजनका साधनबारे ज्ञान छ, तर पहुँच र प्रयोगदर कम छ”, उहाँले भन्नुभयो, “अझै कतिपय नागरिक परिवार नियोजनका परम्परागत विधि अपनाउन बाध्य छन् ।” उहाँका अनुसार कर्णालीमा परिवार नियोजनका परम्परागत विधि प्रयोग गर्नेको सङ्ख्या ९.८ प्रतिशत छ ।

मन्त्रालयले चालु आर्थिक वर्ष २०७९÷८० का लागि रु १७ लाख ५० हजार बजेट विनियोजन गरेको छ । यस वर्ष अघिल्लो आवमा झण्डै रु दुई लाख बजेट कम हुँदा परिवार नियोजनका आधुनिक साधनको पहुँच विस्तार र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न कठिनाइ हुने बताइएको छ ।

स्वास्थ्यका लागि समक्ष प्रणाली परियोजनाका डा सोनाइ चौधरी गिरीले परिवार नियोजनमा गरिएको लगानीले मातृमृत्यु तथा नवजात शिशुको मृत्युमा उल्लेख्य कमी आउने बताउनुभयो । परिवार नियोजनका साधन प्रयोग गर्ने सङ्ख्याभन्दा पनि बीचमै यसको प्रयोग रोक्नेहरुसँग परामर्श गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।