कृषिकर्ममा व्यस्त भएका बेला चट्याङ लागेर एक्काइ जनाको मृत्यु

रामेछाप खबर संवाददाता

४ असोज, नयाँदिल्ली ।

भारतको पूर्वी राज्य विहारमा बितेका २४ घण्टामा वर्षाका बीच चट्याङ पर्दा कम्तीमा २१ जनाको ज्यान गएको राज्यको विपद् व्यवस्थापन प्राधिकरणका एक जना अधिकारीले आज टेलिफोनमा पुष्टि गरेका छन् । कृषिकर्ममा व्यस्त भएका बेला उनीहरूको ज्यान गएको हो । विहारका १० जिल्लामा चट्याङ लागेर सर्वसाधारणको मृत्यु भएको बताउँदै उनले पूर्णिया र अररियामा चार–चार जना, सुपौलमा तीन, बाङ्का, जमुई र नवादामा दुई–दुई तथा बेगुसराय, शेखपुरा, शारण र सहरसामा एक–एक जनाले ज्यान गुमाएका जानकारी दिएका छन् ।

यसैबीच, विहारका मुख्यमन्त्री नीतिशकुमारले चट्याङ लागेर ज्यान गुमाएका प्रत्येकका परिवारका सदस्यलाई भारू चार लाख क्षतिपूर्ति प्रदान गर्ने घोषणा गर्नुभएको छ । साथै उहाँले राज्यवासी सबैलाई सचेत रहन, प्रतिकूल मौसममा घरबाहिर ननिस्कन तथा विपद् व्यवस्थापन प्राधिकरणले जारी गरेका चेतावनीको पालना गर्न आग्रह गर्नुभएको छ ।

थप समाचार : पाकिस्तान बाढीःथप पन्ध्र जनाको मृत्यु
पाकिस्तानका विभिन्न भागमा परेको मुसलधारे वर्षापछिको बाढीमा परी दक्षिणी प्रान्त सिन्धमा कम्तीमा १५ को मृत्यु भएको छ । बाढीमा ज्यान गुमाउनेमध्येमा एक शिशु र तीन जना महिला छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण ९एनडीएमए०ले सोमबार राति सार्वजनिक गरेको विवरणअनुसार देशका छुट्टाछुट्टै स्थानमा भएका बाढीसम्बन्धी घटनामा एक हजार पाँच सय ५९ जनाको मृत्यु भएको छ । बाढीजन्य भवितव्यमा परी १२ हजार आठ सय ५० जना घाइते भएका छन् ।

देशभर परेको भीषण वर्षा र त्यसपछिको बाढीले १९ लाख ७९ हजार घर ध्वस्त भएका तथा नौ लाख ७३ हजार छ सय ३२ चौपाया मरेका छन् । बाढीले १२ हजार सात सय १६ किलोमिटर सडक र तीन सय ७४ वटा पुलमा क्षति भएको छ । बाढी प्रभावित क्षेत्रमा प्राधिकरण, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाले उद्धार तथा राहत सामग्री वितरणलाई निरन्तरता दिइरहेका छन् ।