मलेसिया रोजगार : एक महिनामा ३३ हजारले लिए श्रम स्वीकृति

रामेछाप खबर संवाददाता

४ असोज, काठमाडौं ।

एक महिनामा ३३ हजार भन्दा बढीले मलेसिया जान श्रम स्वीकृति लिएको पाइएको छ । भदौ महिना मात्रै वैदेशिक रोजगारीका लागि मलेसिया जान ३३ हजार ३ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।

यसरी श्रम स्वीकृति लिनेमा ३१ हजार ९२० जना पुरुष छन् भने १ हजार ८३ जना महिला रहेका छन् । उनीहरूले संस्थागत रूपमा श्रम स्वीकृति लिएका हुन् । त्यस्तै १७ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् । साउनमा २२ हजार ३६१ जनाले मलेसिया जान श्रम स्वीकृति लिएका थिए । साउनको तुलनामा भदौमा १० हजार ६४२ जना बढीले मलेसिया जान श्रम स्वीकृति लिएका हुन् ।

भदौमा ७६ हजार ४०३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । जसमा ६८ हजार ८८४ पुरुष र ७ हजार ५१९ महिला रहेका छन् । भदौ महिनामा १३ जना उच्च दक्ष जनशक्तिले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । त्यस्तै १४६ जना प्रोफेसनल, ५ हजार ९२ जना अर्ध दक्ष जनशक्ति, ४६ हजार ६९ जना दक्ष जनशक्ति र २५ हजार ८३ जना अदक्ष जनशक्ति रहेका छन् ।

साउनमा ३५ हजार ६०५ जना नेपाली वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका थिए । भने ६३ हजार ३९ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए ।

थप समाचार : साउदीमा अवैध थप ५८ नेपालीले पाए एक्जिट भिसा
साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप ५८ नेपालीले ‘एक्जिट भिसा’(बहिर्गमन भिसा) पाएका छन्। ९ देखि १५ सेप्टेम्बरसम्म अवधिमा रियाद र दमामबाट पक्रिया थालिएकामध्ये ५८ जनाको भिसा साउदी सरकारले उपलब्ध गराएको रियादस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो।

अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ।

एक्जिट भिसा आएकाहरूलाई दूतावासमा पुगेर भिसा प्राप्त गर्न दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ। एक्जिट भिसा पाएकाहरु ६० दिनभित्र स्वदेश फर्किसक्नु पर्छ। थप जानकारीका लागि दूतावासका सम्बन्धित कर्मचारीलाई मोबाइल नम्बर ०५००० २१४०९ वा ०५४ ७०४ ५२७२ र नेपाली महावाणिज्यदूतावास जेद्दाका सम्बन्धित कर्मचारीलाई मोबाइल नम्बर ०५८२८१७१८८ मा सम्पर्क गर्न सकिनेछ।