३ असोज, टोकियो ।
जापानको दक्षिणपश्चिमी टापु क्युसुमा आएको आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस प्रकोपको कारण करिब ७० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नानमाडोल आँधी सोमबार बिहान एक सय २६ किलोमिटर प्रति घण्टा हावाको गतिमा फुकुओका सहरमा पुगेको जापान टाइम्सले जनाएको छ । यस क्षेत्रका केही भागहरुमा चार सय मिलिमिटर वर्षा हुने अपेक्षा गरिएको मौसम विज्ञान एजेन्सीले बताएको छ ।
यस आँधीको कारण मङ्गलबार होन्सुको ठूलो भूभागमा भारी वर्षा हुने र बाढी र पहिरोको जोखिम निम्त्याउने अनुमान गरेको एजेन्सीले जनाएको छ । जापानको मौसम विज्ञान एजेन्सीले टोकियो र छेउछाउको कानागावा प्रान्तको लागि बाढी आउन सक्ने चेतावनी जारी गरेको छ । यद्यपी क्युशुको ठूलो भाग र उत्तरपूर्वी प्रान्तहरू बाढीको चेतावनीमा थिए । लगातारको वर्षाका कारण सम्भावित पहिरो र बाढीको जोखिम उच्च रहेका जापान टाइम्सले जनाएको छ ।
थप समाचार : फिलिपिन्समा दुई हजार तीन सयमा कोरोना सङ्क्रमण, एकै दिन ३५ जनाको मृत्यु
फिलिपिन्समा आइतबार मात्र दुई हजार तीन सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ ।यहाँ केही दिनयता कम्तीमा पनि दुई हजार जनामा सो सङ्क्रमण देखिने गरेको बताइएको छ । यहाँको स्वास्थ्य विभागले आइतबार मात्र यो सङ्क्रमणबाट कम्तीमा पनि ३५ जनाको ज्यान गएको जनाएको छ ।
यो समेत गरेर यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेसम्ममा कम्तीमा पनि ६२ हजार जनाको ज्यान गएको छ । यहाँ कोरोना भाइरसका सक्रिय सङ्क्रमितहरु बढेर २६ हजार भन्दा बढी पुगेको अधिकारीहरुले जनाएका छन् । साथै यहाँ यो भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेम्ममा ३९ लाखभन्दा बढी नागरिक सङ्क्रमित हुन पुगेका छन् । यहाँका ७२ प्रतिशत नागरिकलाई कोरोना विरुद्धको पूर्ण मात्रा खोप दिइएको पनि समाचरामा जनाइएको छ ।