मलेसियामा मृत्युदण्डको सजाय छुट पाएका नेपाली श्रमिक

रामेछाप खबर संवाददाता

१ असोज, काठमाडौं ।

मलेसियाको पुनरावेदन अदालतले रोजगारीका सिलसिलामा त्यहाँ पुगेका एक नेपाली श्रमिकलाई मृत्युदण्डको सजायलाई जेल सजायमा परिवर्तन गरिदिएको छ । मलेसियामा रहेको नेपाली दूतावासका अनुसार रोजगारीका लागि मलेसिया पुगेका धनुषा गोविन्दपुरका सुरजदेव साह तेलीलाई सुनाइएको मृत्युदण्डको सजायलाई पुनरावेदन अदालतले १२ वर्ष जेल सजायमा परिवर्तन गरिदिएको छ ।

दूतावासका अनुसार सन् २०१६ मा कर्तव्य ज्यान अभियोगमा पक्राउ परेका साहलाई मलेसियाको फौजदारी संहिताको दफा ३०२ अनुसार मृत्युदण्डको सजाय तोकिएको थियो । तर, अदालतको फैसला र मृत्युदण्डको सजायका सम्बन्धमा गरिएको पुनरावेदनमा मलेसियाको पुत्राजयस्थित पुनरावेदन अदालतले गत साता बिहीबार (८ सेप्टेम्बर २०२२) मृत्युदण्डको सजायलाई १२ वर्ष जेल सजायमा परिवर्तन गरेको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार पुनरावेदन अदालतको यो फैसलापछि अब सुरजदेव साह तेली बाँकी सजाय सकिएपछि नेपाल फर्कनेछन् । साह कार्यरत कम्पनीको नाम भने मलेसिया प्रहरी र अदालतले गोप्य राखेका छन् । मलेसियामा उद्योग ऐनमा कम्पनीको प्रतिष्ठामाथि असर नपरोस् भनेर कतिपय घटनामा नाम सार्वजनिक नगर्ने व्यवस्था छ ।

दूतावासका अनुसार उनी अवैध बसेर काम गर्दा–गर्दै रोजगारदाता कम्पनीमै २०१५ मा सामूहिक झगडा गर्दा तीन जना विदेशी श्रमिकको मृत्यु भएको थियो । उक्त घटनामा उनीसहित अन्य ४ जना विदेशी श्रमिक पक्राउ परेका थिए । नेपाली, भारतीय र बंगलादेशका श्रमिकबीच रोजगारदाता कम्पनीमा सामूहिक झगडा पर्दा एक बंगाली र अन्य दुई जना श्रमिकको मृत्यु भएको थियो । उक्त घटनामा साहलाई मलेसिया प्रहरीले सन् २०१६ को जनवरीमा पक्राउ गरेको थियो ।

उनी पक्राउ परेको जानकारी मलेसियामा रहेको नेपाली दूतावासले भने २०१८ मा मृत्युदण्डको सजाय सार्वजनिक भएपछि मात्र पाएको थियो । मलेसियामा फौजदारी कर्तव्य ज्यान अभियोगमा पक्राउ गरेका विदेशी श्रमिकको जानकारी लिन समस्या हुने गरेको दूतावासले बताएको छ ।

कुनै नेपाली श्रमिक सामान्य मुद्दामा पक्राउ परे भने पनि उनीहरूको जानकारी लिन दूतावासलाई ३ देखि ६ महिना कुर्नुपर्ने अवस्था रहेको दूतावासका एक कर्मचारीले जानकारी दिए । नेपाली श्रमिक कसरी, के मुद्दामा, घटनाको विवरण र उनीहरूको पहिचान माग्नसमेत मलेसियाको सम्बन्धित निकायमा कैयौँपटक इमेलसँगै पत्राचार गर्नुपर्ने ती कर्मचारीको भनाइ छ ।

मलेसियामा सामान्य मुद्दामा पनि कतिपय नेपाली श्रमिकले चर्को विगो (ब्लडमनी) तिर्नुपर्ने बाध्यता छ । अरुको बयान र झोसपोलकै आधारमा समेत कतिपय नेपालीलाई मलेसिया प्रहरी पक्रिएर जेल हालेको उनले जानकारी दिए । ‘सामान्य मुद्दामा जेल परेका कतिपय नेपाली श्रमिकलाई तिर्नै नसक्ने गरी (ब्लडमनी) विगोको सजाय सुनाउने गरेको छ । जसका कारण उनीहरू विगो तिर्नै नसक्ने डरले परिवारको सम्पर्कमा पनि नआई जेलमै बस्ने गरेका छन्,’ उनले भने ।

मलेसियामा धेरै नेपालीहरू विभिन्न मुद्दामा फसेर जेलमा छन्, जसमा कतिपय श्रमिक भने कसुरबिना नै जेल परेको उनको भनाइ छ । मलेसियामा कतिपय नेपाली श्रमिकहरू प्रहरीको फरार सूचीमा छन् । उनीहरू अवैध भएर आफ्नो पहिचानसमेत लुकाएर बसेका कारण स्वदेश फर्किने अवस्थामा नरहेको ती कर्मचारीले बताए ।

मलेसियाली जेलमा करिब २ सय २१ जना नेपाली श्रमिक विभिन्न घटनामा थुनामा परेको दूतावासको तथ्यांक छ । तर, उनीहरू के कारणले थुनामा परे भन्ने प्रमाण भने दूतावाससँग छैन । मलेसियामा कर्तव्य ज्यान अभियोगमा जेल परेका ३५ जनाभन्दा धेरै नेपालीलाई मृत्युदण्डको सजाय घोषणा भएको दूतावासले जनाएको छ ।

मलेसियामा कतिपय नेपाली श्रमिक कसुरबिना नै जेल पर्ने गरेको र कानुनी परामर्श नहुँदा मृत्युदण्ड र ब्लडमनीको सजाय भोग्नुपर्ने बाध्यता रहेको मलेसियाका लागि पूर्वनेपाली राजदूत डा. उदयराज पाण्डे बताउँछन् । सरकारले विदेशी जेलमा रहेका श्रमिकलाई कानुनी परामर्शका लागि सम्बन्धित रोजगारदाता देशसँग समन्यव गरेर छुटाउन पहल गर्नुपर्ने उनको भनाइ छ । मलेसियामा करिब साढे ४ लाख नेपाली श्रमिक कार्यरत रहेको श्रम मन्त्रालयको अनुमान छ । जसमा ९० हजारदेखि १ लाख २० हजार श्रमिक अवैध रुपमा बसेर काम गरिरहेको श्रम मन्त्रालयकै अध्ययनमा औँल्याइएको छ । – रमेश भारती शिलापत्र