नायिका रश्मिका मन्डन्नालाई भेट्न मन लागेको को हुन् यी भाईरल बालिका ? (भिडियो सहित)

रामेछाप खबर संवाददाता

काठमाडौं ।

अल्लु अर्जुन र रश्मिका मन्डनाको फिल्म ‘पुष्पा’ हिट भयो । फिल्मसँगै गीतलाई पनि दर्शकले मन पराए । यतिबेला एउटी सानी बालिकाको भिडियो सार्वजनिक भएको छ, जसमा ती बालिकालाई फिल्म ‘पुष्पा’ को ‘सामी सामी’ गीतमा स्कुल ड्रेसमा निकै मिठो शैलीमा नाचिरहेको देखिन्छ ।

यो भिडियो सार्वजनिक हुने बित्तिकै रश्मिका मन्डन्नाले यो भिडियो आफ्नो ट्विटरमा सेयर गर्दै बालिकालाई भेट्ने इच्छा व्यक्त गरेकी छिन् । फ्यानका साथै रश्मिकाले पनि यो क्यूट भिडियोलाई निकै मन पराएर साझा गरेकी छिन् ।

सन् २०२१ मा रिलिज भएको अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ मा अभिनेत्री रश्मिका मन्डन्ना मुख्य भूमिकामा देखिएकी थिइन् । रुटिन अफ नेपाल बन्दका अनुसार बालिका हेटौंडाकी हुन् । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि उनको क्यूट अभिनय शेयर गरिरहेका छन् ।

थप समाचार : विदेशी फिल्मलाई कडाइ गर्दै बोर्ड : एक साताअघि नै सेन्सर सिफारिस, रात्रि शोमा रोक
लगातारका दुई निर्णय । निर्णयभन्दा पनि यसले दिन खोजेको सन्देश अर्थपूर्ण छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अप्रत्यक्ष रुपमा विदेशी फिल्मलाई कडाइ गर्ने संकेत दिएका छन् । विदेशी फिल्मलाई प्राथमिकतामा राखेको भन्दै आरोप खेपिरहेका फिल्म हललाई १५ दिनभित्र नवीकरण गर्न र कर दाखिला गर्न अल्टिमेटम दिने निर्णय गरेका भुवनले अर्को निर्णय गरेका छन् ।

बिहीबार केही राष्ट्रिय अखबारमा बोर्डको सूचना छापिएको छ, जसको परोक्ष अर्थ पनि विदेशी फिल्मप्रतिको कडाइ नै हो । सूचनामा दुई महत्वपूर्ण कुरा छन् । रिलिजको एक साताअघि नै चलचित्र जाँचपासको लागि निवेदन दिनुपर्ने र बिहान ६ बजेदेखि राति ११ बजेसम्म मात्र फिल्म देखाउन पाउने गरी शो निर्धारण गर्नुपर्ने । राति ११ बजेपछि वा बिहान ६ बजेअघि फिल्म देखाउनुपर्ने भएमा प्रशासनको अनुमति लिनुपर्ने नियम पनि बोर्डले ल्याएको छ । कात्तिक १ गतेदेखि यो नियम लागू हुने जनाइएको छ ।

‘केजीएफ २’लाई मध्यरात र एकाबिहानै प्रदर्शन गरिएको भन्दै विरोध भइरहेको थियो भने हालै विदेशी फिल्म ‘ब्रह्मास्त्र’को सेन्सर नभएको कारण देखाउँदै नेपाली फिल्महरुले शो पाउन सकेका थिएनन् । यतिबेला भने आजको आजै वा आजको भोलि शैलीमा विदेशी फिल्मको सेन्सर हुने गरेको छ भने नेपाली फिल्मलाई सेन्सरमा प्राथमिकता दिइने गरिएको छैन । यी असन्तुष्टिबीच बोर्डले नयाँ सूचना जारी गरेको हो ।

बोर्डले सेन्सर सिफारिसमा नयाँ नियम ल्याएपछि वितरकलाई राइट खरिदमा दबाब सिर्जना भएको छ । रिलिजको दुई तीनअघि नै मात्र राइट निश्चित हुने गरेकोमा अब वितरकले धेरै पहिलेदेखि नै खरिदको प्रक्रियालाई टुंग्याउनुपर्नेछ ।