रहेनन् जापानका सर्वजेष्ठ पुरुष, ११२ वर्षको उमेरमा निधन

रामेछाप खबर संवाददाता

२८ भदौ, काठमाडौं ।

जापानका सबैभन्दा वृद्ध मिकिजो उएडाको ११२ वर्षको उमेरमा नारा शहरमा निधन भएको स्थानीय सरकारले मङ्गलबार जनाएको छ । उनको जन्म सन् १९१० मे महिनामा भएको थियो। उनको निधन भएपछि स्वास्थ्य मन्त्रालयले यसै साता देशकै वृद्धहरूमध्येबाट अर्को सर्वजेष्ठ नागरिक घोषणा गर्ने तयारी गरेको छ।

गिनिज वल्र्ड रेकर्ड्सले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता पाएकी ११९ वर्षीया जापानी महिला केन तानाकाको यस वर्षको अप्रिल १९ मा फुकुओका प्रिफेक्चरमा निधन भएको थियो । उनको मृत्युसँगै, जापानको सबैभन्दा वृद्ध व्यक्ति अब ओसाका प्रिफेक्चरमा बस्ने ११५ वर्षीया महिला फुसा तात्सुमी हुन्।

जापानका जिरोमोन किमुरा, गिनिज वल्र्ड रेकर्ड्स द्वारा प्रमाणित सबैभन्दा लामो समय बाँचेका पुरुष थिए उनी (११६ वर्ष र ५४ दिन) को उमेरमा जुन २०१३ मा निधन भएको थियो।

थप समाचार…पाकिस्तानमा वर्षापछिको घटनामा परी १२ हजार घाइते
पाकिस्तानमा बर्षाजन्य घटनामा परी १२ हजारभन्दा बढी घाइते भएका छन् । सरकारी अधिकारीहरूले सोमबार राती दिएको जानकारी अनुसार पछिल्लो समयमा आएको वर्षापछिको घटनामा परी १२ हजार ७४२ जना घाइते भएका हुन् । घटनामा परी अहिलेसम्म कुल एक हजार ४२७ को मृत्यु भएको पनि पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ । पाकिस्तानमा गत मध्य जुनदेखि आएको मनसुनपछिका घटनाबाट अनपेक्षित रुपमा धेरै क्षति भएको प्राधिकरणको भनाई छ ।

बाढी पहिरोका कारण मृत्यु भएका मध्ये ५१० जना बालबालिका रहेका छन् भने २८७ जना महिला रहेका छन् । देशभरका विभिन्न ठाउँमा भएका घटनामा परी उनीहरूको मृत्यु भएको हो । बाढी पहिरोले सबैभन्दा बढी क्षति सिन्ध प्रान्तमा गरेको छ । त्यस क्षेत्रमा मात्रै अहिलेसम्म ५९४ जनाको मृत्यु भएको पुष्टि भएको छ । पछिल्लो मनसुनका घटनाका कारण १७ लाख ५० हजार ८२८ घर क्षतिग्रस्त भएका छन् । त्यसैगरी आठ लाख ८३ हजार २६८ जनावर मरेका छन् ।

वर्षापछिको घटनाका कारण १३ हजार ३८३ किलोमिटर सडक भत्किएको छ भने ३९० पुल भाँचिएका छन् । प्राधिकरणका अनुसार अहिले पाँच लाख ४१ हजार ४० जना विस्थापित भएर अस्थायी शिविरमा बसिरहेका छन् । बाढी पहिरोबाट पीडित भएका मध्ये एक लाख ७९ हजार २१८ मानिसको उद्धार गरिएको पनि प्राधिकरणका अधिकारीहरूले जनाएका छन् । बाढी पहिरोबाट प्रभावित भएकाहरूलाई खोजी, उद्धार तथा राहतका लागि प्राधिकरणका अधिकारीहरू, स्वयंसेवक, गैरसरकारी संघ संस्थाका पदाधिकारीलगायत अहिले पनि खटिएका छन् ।