विदेशिएका श्रमिकको समस्यालाई सरकार टुलुटुलु हेरेर मात्र बस्दैन, उद्दारमा पनि लागि परेको छ : मन्त्री कुँवर

रामेछाप खबर संवाददाता

२५ भदौ, काठमाडौं ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरुको उद्दारमा सरकार लागिपरेको बताएका छन् । आईतबार मन्त्रालयमा श्रमिकसँग श्रममन्त्री कार्यक्रम अन्तर्गत श्रमिकहरुसँग कुराकानीपछि सञ्चारकर्मीमाझ बोल्दै मन्त्री कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरुको उद्दारका लागि सरकार लागिपरिरहेको बताएका हुन् । उनले समस्यामा परेका श्रमिकहरुको अवस्थाको सम्बन्धमा नेपालका राजदुतसँग छलफल गर्ने र सम्बन्धित देशको राजदुतलाई बोलाएर पनि समस्या समाधानका लागि पहल गरिने बताए ।

मन्त्री कुँवरले विदेशिएका श्रमिकहरुबाट नै देश चलिरहेको भन्दै श्रमिकहरु हेपिएको, चेपिएको विषयलाई गम्भिर ढंगले कुरा उठाउनुपर्ने बताए । उनले श्रमिकको समस्यालाई टुलुटुलु हेरेर मात्र सरकार नबस्ने स्पष्ट पारे । ‘हाम्रा मजदुरहरुले जहाँ दुःख पाएका छन्, उहाँहरु जानुभएको छ कि छैन ? उहाँहरुलाई जान अनुमति दिइएको छ कि छैन ? यदी जान अनुमति दिएको छैन भने त्यहाँको सरकारलाई पनि सचेत, सजग गराउनु प-यो । राजदुतलाई बोलाएर पनि कुरा गर्नुप-यो । हाम्रो श्रम बजार यति सस्तो भयो कि जहाँ जसले जे गरेपनि हुनेभयो । यो ढंगले हामी चुप लागेर बस्नु हुँदैन ।’ उनले भने, ‘हामीले आफ्नो ठाउँबाट पहल गर्नुपर्छ । हामी श्रम बेचिरहेका छौँ । यो श्रमबाट देश चलिरहेको छ । यो श्रमले सबै खाइरहेका छौँ । तर यी श्रमिकहरु जुन हेपिएका छन्, चेपिएका छन्, यो विषयमा गम्भिर ढंगले कुरा उठाउनुपर्छ । हामीले सरकारसँग उठाउने हो कि, त्यहाँको राजदुतलाई बोलाएर उठाउने हो कि, पहिला त हामी आफ्नै च्यानलमा कुरा उठाउँ न ।’

उनले थपे- ‘हामीबाट सबै कुराहरु भएको छ खाली हामीले त्यति गर्दागर्दै पनि त्यहाँका सरकारले, त्यहाँका कम्पनीहरुले यदी सुनेको छैन भने त सरकार टु सरकार पनि हामीले छलफल चलाउनुपर्ने हुन्छ । यी गम्भिर विषयलाई त्यत्तिकै टुलुटुलु हेरेर बस्नु हुँदैन भन्ने मान्यता छ ।’ मन्त्री कुँवरले विदेशी कम्पनीहरुले नेपाली कामदारलाई बाहिर आउन नदिने भएको अवस्थामा त्यहाँको सरकार सँग कुरा गर्ने बताए । उनले गल्ती काम गरेका मेनपावरहरुलाई कारबाही गरिने पनि बताए ।