यूएईमा साथीको छुरा प्रहारबाट एक नेपालीको मृत्यु

रामेछाप खबर संवाददाता

२५ भदौ, काठमाडौं ।

रोजगारीका सिलसिलामा यूएई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा दम्कुका मेखराज ढकालको साथीको छुरी प्रहारबाट मृत्यु भएको छ।
अबुधाबी अलदाफ्रास्थित एएमबी हेरटेल एलएलसी नामक कम्पनीमा कार्यरत ढकालको बाग्लुङको निसीखोला गाउँपालिका–६, निसीका दिलबहादुर बुढाको छुरी प्रहारबाट मृत्यु भएको हो।

सेप्टेम्बर २ को राति बुढाले छुरी प्रहार गर्दा गम्भीर घाइते भएका ढकालको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको अबुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ। दुई जनाबीच भनाभन चलेको र सुत्न गएको बेला वाथरुम छेउमा बसिरहेका बुढाले ढकाललाई छातीमा छुरा प्रहार गरेको दाजु बसन्त ढकालले बताएका छन्। घट्नास्थलमा ४६ मिनेटपछि मात्र प्रहरी पुगेको थियो।

एम्बुलेन्समा राखेर अस्पताल लैजानेक्रममा ढकालको मृत्यु भएको थियो। छुरी प्रहार गर्ने बुढालाई घटना लगत्तै प्रहरीले पक्राउ गरेको छ। ढकाल चार वर्षअघि रोजगारीका सिलसिलामा दुबई पुगेका थिए। उनी ६ महिनाअघि छुट्टी मनाउन घर आएर दुबई फर्केका थिए। एयर अरबियामार्फत ल्याइएको उनको शवलाई शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको नारायण बस्नेतले जानकारी दिए। उनका घरमा बृद्धावस्थाका आमा बुवा, दाजुभाउजू र दिदी छन्।

थप समाचार…युएईमा एक वर्षको अवधिमा १७४ नेपालीको मृत्यु
आर्थिक वर्ष २०७८-७९ मा रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका १७४ नेपाली कामदारको मृत्यु भएको छ । दुर्घटनालगायतका कारणले मृत्यु भएका १७४ जना नेपालीमध्ये १६७ जनाको शव स्वदेश पठाइएको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । ७ जनाको युएईमै अन्तिम संस्कार गरिएको दूतावासले सार्वजनिक गरेको वार्षिक कार्य प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।

दूतावासका अनुसार युएईमा मृत्यु तथा घाइते भएकाहरूले पाउने रकम ३२ लाख ७५ हजार ७६३ युएई दिराम (करिब ११ करोड ४० लाख ९७ हजार १७७ रुपैयाँ) क्षतिपूर्ति नेपालको कन्सुलर शाखामार्फत पीडित परिवारलाई पठाइएको छ । यसैगरी, दूतावासले आर्थिक वर्ष २०७८-७९ मा १४ हजार १७१ पासपोर्ट जारी गरेको र ७५० जनालाई नेपाल फर्किन आवश्यक पर्ने ट्राभल डकुमेन्ट दिइएको जनाएको छ । यस्तै दूतावासले १ हजार ७५६ वटा माग पत्र प्रमाणीकरण र ४७६ जनालाई भिसा जारी गरेको जनाएको छ । युएईमा विभिन्न काममा गरी करिब चार लाखको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ ।