दुबईमा आफ्नै साथीले छुरा प्रहार गर्दा एकजना नेपालीको मृत्यु

रामेछाप खबर संवाददाता

२५ भदौ, काठमाडौं ।

दुबईमा आफ्नै साथीले छुरा प्रहार गर्दा एकजना नेपालीको मृत्यु भएको छ। रोजगारीका सिलसिलामा दुबई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा दम्कुका मेखराज ढकालको आफ्नै साथीबाट छुरा प्रहार हुँदा मृत्यु भएको हो।

आबुधाबी अलदाफ्रास्थित ‘एएमबि हेरटेल एलएलसी’ नामक कम्पनीमा कार्यरत ढकाललाई बाग्लुङको निसीखोला गाउँपालिका–६, निसीका दिलबहादुर बुढाले छुरा प्रहार गरेका हुन्। आबुधाबीस्थित नेपाली राजदुतावासका अनुसार उपचारका लागि अस्पताल लैजाने क्रममा ढकालको मृत्यु भएको हो। गत २ सेप्टेम्बर राती बुढाले छुरा प्रहार गर्दा गम्भीर घाइते भएका थिए।

यो पनि..मलेसियामा मृत्युदण्ड पाएका एक जना नेपालीको सजाय फेरियो
वैदेशिक रोजगारीको सिलसिलामा मलेसयाका पुगेका एक जना नेपालीलाई दिइएको मृत्युदण्डको सजाय परिवर्तन भएको छ । मलेसियाको पुत्रजयस्थित पुनरावेदन अदालतले आज धनुषाको गोविन्दपुर–२ का सुरज देव साह तेलीको मृत्युदण्डको सजाय परिवर्तन गरी १२ वर्ष जेल सजाय सुनाएको हो ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार तेलीलाई कर्तव्यज्यानको अभियोगमा सन् २०१६ डिसेम्बरमा मलेसियन प्रहरीले पक्राउ गरेको थियो । सो मुद्दामा इपो उच्च अदालतले सन् २०२० अगष्टमा उनलाई मलेसियाको फौजदारी संहिताको दफा ३०२ बमोजिम मृत्युदण्डको सजाय सुनाएको थियो ।

त्यसपछि तेली फैसला र मृत्युदण्ड सजाय सम्बन्धमा पुनरावेदनमा गएका थिए । पुत्रजयस्थित पुनरावेदन अदालतले आज तेलीको कसूरलाई मलेसियन फौजदारी संहिताको दफा ३०२ बाट दफा ३०४ (क) मा परिवर्तन गरी बाह्र वर्ष जेल सजाय कायम गरेको नेपाली दूतावासले जनाएको छ । ‘सोही बमोजिम सुरज देव साह तेली बाँकी सजाय सकिएपश्चात नेपाल फर्कनुहुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।