पूरा भयाे रचनाकाे सपना, भनिन “आशिर्वाद दिनुहुने सबैमा नतमस्तक छु”

रामेछाप खबर संवाददाता

४ भदौ, काठमाडौं ।

गायिका रचना रिमालको झापामा बन्दै गरेको घर तयार भएको छ । झापाको चन्द्रगढीमा पुरानो घर भएको ठाँउमा चार कोठे पक्की घर निर्माण कार्य पुरा भएको हो । पछिल्लो समय एकदमै व्यस्त गायिकाको रुपमा परिचित रिमालले आफनो कमाइबाट बुबाआमाको लागि घर बनाउने सपना पुरा भएको बताइन् । उनले सामाजिक संजाल फेसबुकमा नयाँ घरको तस्बिर राख्दै आफनो सानैदेखिको सपना पुरा भएको भन्दै खुसी साटेकी छन् । सानैदेखि बुबाआमालाई एउटा घर बनाएर राख्ने सपना पुरा गर्दै उनले नयाँ बनेको घरमा बुबाआमालाई राखेकी छन् ।

उनले फेसबुकमा लेखेकी छन् ,’सानैदेखि बाबाममिलाई एउटा घर बनाएर राख्ने सपना थियो, सांगितिक क्षेत्रबाटै यो सपना पुरा गर्छु भन्ने कल्पना नै थिएन तर हजुरहरु सबैको माया र आशिर्वादले गर्दा आज मेरो एउटा सपना पुरा भएको छ । चन्द्रगडि झापामा पुरानो घर भएको ठाँउमा चार कोठे पक्कि घर निर्माण कार्य सकिएको छ , बाबाममि यहि घरमा बस्दै हुनुहुन्छ माया, साथ, हौसला र आशिर्वाद दिनुहुने सबैमा नतमस्तक छु। सदैव यहि क्षेत्रमा रहि सत्कर्म गर्ने छु ।’

यो पनि…अनमोलको ‘छड्के २’ को छायांकन सुरु
अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘छड्के २’ को छायांकन सुरु भएको छ । श्रीकृष्ण जन्माष्टमीकाे अवसर पारेर चितवनको भरतपुरमा शुभ मुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । ६० दिनको छायांकन सेड्युल रहेको फिल्म चितवनसँगै मुस्ताङमा पनि छायांकन हुनेछ ।

अनमोल ग्याङ्गस्टार भूमिकामा देखिने फिल्म निगम श्रेष्ठले निर्देशन गर्न लागेका हुन् । निर्देशक श्रेष्ठकै लेखनसमेत रहेको फिल्म अनमोलको अलवा रोविन तामाङ र कमलमणि नेपालको पनि मुख्य भूमिका रहनेछ । निर्माण टिमले अभिनेत्रीको नाम भने अहिले गोप्य राखेको छ । छायांकन भइरहेको समय कलाकार क्रमशः सार्वजनिक गर्ने निर्देशक श्रेष्ठले बताए ।

काभ्रे फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मसँग मेधा फिल्म्स र निर्वाण फिल्म स्कुलले सहकार्य गरेको छ । फिल्मको निर्मातामा प्रशान्त गिरी र लक्ष्मण काफ्ले हुन् । ‘छड्के’ ६ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म हो । फिल्मले समीक्षात्मक रुपमा प्रशंसा बटुलेको थियो । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, नम्रता श्रेष्ठलगायतको अभिनय थियो । निगम श्रेष्ठले नै फिल्मको निर्देशन गरेका थिए ।