शिक्षकका लागि राखेको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु

रामेछाप खबर संवाददाता

२९ साउन, काठमाडौं ।

भारतको राजस्थानमा दलित समुदायका एक बालकको शिक्षकका लागि राखिएको भाँडाबाट पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट गर्दा मृत्यु भएको छ । नौ वर्षीय बालकको शनिबार मृत्यु भएको हो । प्रहरीले दोषी शिक्षकलाई पक्राउ गरी हत्या अभियोग लगाएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ । उक्त दुःखदायी घटना जालोर जिल्लाको सायला गाउँको एक निजी विद्यालयमा जुलाई २० मा भएको थियो ।

कुटाइबाट आँखा र कानमा गम्भीर चोट लागेका बालकलाई उपचारका लागि करिब ३०० किलोमिटर टाढा अहमदाबाद लगिएको थियो । बालकको उपचारको क्रममा अस्पतालमा शनिबार मृत्यु भएको थियो । द्वन्द्व चर्किने आशंकामा उक्त क्षेत्रमा इन्टरनेट बन्द गरिएको छ ।

मुख्यमन्त्री अशोक गहलोतले घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल छानबिन गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् । ‘पीडित परिवारलाई जतिसक्दो चाँडो न्याय सुनिश्चित गरिनेछ । मुख्यमन्त्री राहत कोषबाट परिवारलाई ५ लाख भारु दिइनेछ’, उनले ट्वीट गरे । पीडितको पोस्टमार्टम गर्न अहमदाबादमा एउटा प्रहरी टिम पठाइएको छ ।

यो पनि…भारतमा चौध हजारभन्दा बढी कोरोना सङ्क्रमित
भारतमा एकै दिनमा १४ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १४ हजार ९२ नयाँ सङ्क्रमित भएका हुन् । यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४२ लाख ५३ हजार चार सय ६४ जना पुगेका सङ्घीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको छ ।

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १६ हजार आठ सय ६१ रहेको छ । कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार नौ सय ३७ व्यक्तिको मृत्यु भइसकेको छ । भारतमा हिजो एक दिनमा १६ हजार चार सय ५४ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३६ लाख ९ हजार पाँच सय ६६ जना कोरोनामुक्त भएका छन् ।

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म दुई अर्ब ७ करोड ९९ लाख ६३ हजार पाँच सय ५५ मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसमम ८८ करोड भन्दा बढी जनाको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।