यति धेरै नेपालीलाई साउदी अरब छाड्न निर्देशन, यस्तो छ कारण !

रामेछाप खबर संवाददाता

२७ साउन, काठमाडौं ।

नेपालको प्रमुख रोजगार गन्तव्य खाडी मुलुक साउदी अरबमा रहेका केही नेपालीलाई तत्काल मुलुक छाड्न आदेश दिइएको छ । रियादस्थित नेपाली दूतावासले ९३ जना नेपालीलाई साउदी अरबबाट स्वदेश फर्कन निर्देशन दिएको बताइएको छ ।

त्यहाँ अवैधानिक रुपमा बसेका उनीहरुलाई दूतावासले दुई महिनाभित्र स्वदेश फर्कन निर्देशन दिएको हो । दूतावासका अनुसार अगष्ट ५ देखि ११ तारिखसम्म रियाद र दमाममा अवैधानिक रुपमा बस्दै आएका ९३ जना नेपालीले ‘एक्जिट भिसा’ प्राप्त गरेका छन् ।

साउदीका विभिन्न कम्पनीमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र नबनाएका, नवीकरण नगरिएका वा हुरबु लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक भीसाका निम्ति दुतावासले त्यहाँको सबन्धित निकायमा आग्रह गरेको बताइन्छ । एक्जिट भिसा लागेका नेपालीहरूले आगामी ६० दिनभित्र अनिवार्य रूपमा साउदी अरब छाड्नुपर्ने हुन्छ ।

यो पनि..चोरीको आरोपमा एक वर्षदेखि नेपाली युवा साउदीको जेलमा..
साउदी अरेबियामा चोरीको आरोपमा एक वर्षदेखि नेपाली युवा जेल जीवन बिताइरहेको पाइएको छ। महोत्तरी बर्दिबास-६ निवासी अमलेश साह कार्यरत कम्पनी छोडेर अर्को कम्पनीमा गएपछि बराक नसीर अल दोसरीले झुटो चोरीको आरोप लगाएको हो। कम्पनीले सम्झौता बमोजिम तलब सुविधा नदिए पछि उनी बाध्य भएर कम्पनी छोड्दा सोही कम्पनीले पक्राउ गराएर एक वर्षदेखि जेलमा रहेको सामाजिक अभियन्ता सरोज रायले जानकारी दिए ।

अभियन्ता रायका अनुसार अमलेशका घर परिवारले करिब चार महिनादेखि उनको उद्धारको लागि वैदेशिक रोजगार विभागमा गएर निवेदन दिए पनि कुनै पहल नभएको सुनाए । आफूले पनि वैदेशिक रोजगार बोर्डमा कानुनी सहायता र उद्धारको लागि निवेदन दिएको उनले बताए।

साउदी अरबमा नेपालबाट म्यानपावर कम्पनीले सम्झौता गरेअनुसारको काम र सुविधा नपाएपछि कम्पनी छाडेर अर्को कम्पनीमा जाने कामदारको संख्या बढेको छ। पुरानो कम्पनीले चोरीको झुट्टो मुद्दा हालेर धेरै नेपाली श्रमिकहरूलाई बिना गल्ती जेल जीवन बिताउन बाध्य पार्ने क्रम बढेको सोरोकारवालाहरुले बताउने गरेका छन् ।