मलेसियामा एकै दिन दश जनाको मृत्यु

रामेछाप खबर संवाददाता

२७ साउन, काठमाडौं ।

मलेसियामा बिहीबार रातिसम्म थप चार हजार आठ सय ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यहाँ पछिल्ला केही समयमा कोरोनाको सङ्क्रमण बढेको पाइएको हो । त्यसैगरी यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको एकै दिनमा यहाँ १० जनाको ज्यान पनि गएको छ ।

यहाँ भेटिएका पछिल्लो दिनका यी सङ्क्रमितहरु प्राय सबैजसो देशभित्रैका रहेका बताइएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेसम्म कम्तीमा पनि ३६ हजार जनाको निधन भएको छ । त्यसैगरी सो मन्त्रालयले यहाँ अहिलेसम्म ४७ लाख भन्दा बढीमा सो सङ्क्रमण पाइएको पनि जनाएको छ । मलेसियाली सरकारले कोरोना विरुद्धको खोपलाई प्राथमिकतामा राखेर लगाउने गरेकाले यहाँका सङ्क्रमतिहरुमा मृत्यु दर भने निकै कम रहेको पनि बताइएको छ ।

यो पनि…विष्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु
अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । राजधानीमा भएको विस्फोटमा हक्कानी मारिएका टोलो समाचार समितिले जानकारी दिएको छ । अफगानिस्तानमा पछिल्ला हप्ताहरुमा शृङ्खलाबद्ध विस्फोटहरु भएका छन् । राजधानी काबुलको चन्दवाल, पुल–ए–सोख्ता र सरकारिजलगायतका धेरै क्षेत्रमा विस्फोट भएका छन् ।

अगस्ट छ मा काबुलको पश्चिममा पर्ने पुल–ए–सोख्ता क्षेत्रनजिक भएको विस्फोटमा कम्तिमा तीन जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएका थिए । अफगानिस्तानमा भर्खरै भएको विस्फोटको संयुक्त राष्ट्र सङ्घले निन्दा गरेको छ । यसमा परी एक सय २० भन्दा बढी व्यक्तिको मृत्यु र घाइते भएका छन् । यस विस्फोटको इस्लामिक स्टेट्सले दाबी गरेको छ । अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसङ्घीय कार्यालयले अल्पसंख्यकहरूको लागि थप सुरक्षाको आग्रह गरेको छ ।