धौलागिरी लघुवित्तको आइपिओ बिक्री खुला, कति कित्तासम्म दिन सकिन्छ आवेदन?

रामेछाप खबर संवाददाता

२४ साउन, काठमाडौं ।

सर्वसाधारणको लागि धौलागिरी लघुवित्त वित्तीय संस्थाको आइपिओ आज (मंगलबार) देखि बिक्री खुला भएको छ। कम्पनीले जारी पुँजी दश करोड ३१ लाख रुपैयाँ बराबरको ३२.१० प्रतिशतले हुन आउने प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यका तीन करोड ३१ लाख रुपैयाँ बराबरको तीन लाख ३१ हजार कित्ता आइपिओ निष्कासन गरेको हो।

निष्कासन गरिने कुल ३ लाख ३१ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ भने बाँकी रहेको तीन लाख नौ हजार २९५ कित्ता शेयरका लागि सर्वसाधारणका लागि बिक्री खुला गरेको कम्पनीले जानकारी दिएको छ।

कम्पनीको आइपिओमा साउन २९ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा भदौ ७ गतेसम्म समय लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीको आइपिओ निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपिओलाई आईपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस आइएस’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

डलर र सुन चाँदीको मूल्यमा उच्च अंकको वृद्धि, कतिमा हुँदैछ कारोबार ?
मंगलवार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ९६ हजार ९०० रुपैयाँ कायम भएको छ । आइतवार र सोमवार भने सुनको मूल्य स्थिर रहँदै प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलवार चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार २४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार २०५ रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै, अन्तरराष्ट्रिय बजारमा भने मंगलवार सुनको मूल्य घटेको छ । यो दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ७८५ दशमलव ७७ डलर पुगेको छ ।

त्यसैगरी, आज डलर को मूल्य पनि बढेको छ । यो दिन एक अमेरिकी डलरको विक्रिदर १२७ रुपैयाँ ७६ पैसा कायम भएको छ । अघिल्लो दिन‌ एक अमेरिकी डलरको विक्रीदर १२७ रुपैयाँ ०८ पैसा थियो ।