बैंक अफ काठमाण्डूले भदौ २ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

रामेछाप खबर संवाददाता

साउन २४, काठमाडौं ।

बैंक अफ काठमाण्डू लिमिटेडले भदौ २ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले ७ वर्ष अवधिको १० दशमलव ५० प्रतिशत ब्याजदर रहेको ‘बिओके डिवेञ्चर, २०८६’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता रू. १ हजार अंकित दरका रू. १ अर्ब १० करोड बराबरका ११ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । जसमध्ये ६० प्रतिशत अर्थात रू. ६६ करोड बराबरको ६ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने रू. ४४ करोड बराबरको ४० प्रतिशत अर्थात ४ लाख ४० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गर्नेछ । सर्वसाधारणलाई विक्री गर्ने ४ लाख ४० हजार कित्तामध्ये २२ हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषलाई बाँडफाँट गर्नेछ ।

यो ऋणपत्रमा भदौ ७ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा भदौ १६ गतेसम्म थप हुनेछ । ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

यो पनि…विभिन्न स्थानमा रोपियो गुर्जोका एक हजार बिरुवा
धेरै रोगमा औषधिको काम गर्ने जडीबुटी गुर्जो रोपण अभियानलाई विगत वर्षमा जस्तै यस वर्ष पनि तीव्रता दिइएको छ । प्रत्येक वर्ष वर्षात्का समयमा देशभर गुर्जो रोपण अभियानलाई निरन्तरता दिँदै आउनुभएका अभियानकर्मी कमलबहादुर राजलवटले यस वर्ष वाग्मती किनारस्थित संयुक्त राष्ट्रसङ्घीय उद्यान (य्ुएनपार्क)मा दुई सय गुर्जोको बिरुवा रोपिएको जानकारी दिनुभयो ।

उद्यानसँगै मैतीदेवी मन्दिर क्षेत्रमा पनि करिब ५० वटा गुर्जो रोपिएको छ । ललितपुर र भक्तपुर जिल्लाका विभिन्न स्थानमा पनि गुर्जोको बिरुवा रोपिएको उहाँले सुनाउनुभयो । ललितपुरको कोञ्ज्योस्योम गाउँपालिकाको खामभञ्ज्याङस्थित तीनपाने सामुदायिक वन क्षेत्रमा गुर्जोका सात सय बिरुवा रोपिएको छ । यसैगरी काठमाडौँको मण्डिखाटार क्षेत्रमा पनि करिब ५० वटा गुर्जोका बिरुवा रोपिएको छ ।

क्षमता वृद्धि गर्न महत्वपूर्ण जडीबुटी मानिन्छ । आन्तरिक राजस्व कार्यालय धुलिखेलको कार्यालय प्रमुखका रूपमा काम गरिरहनुभएका राजलवटले बिहान, बेलुका र बिदाको दिनको समयलाई भने गुर्जो रोपण अभियानमा उपयोग गर्दै आउनुभएको छ । नेपालमा कोरोना महामारी सुरु भएसँगै विसं २०७६ चैतदेखि राजलवटले निःशुल्करूपमा गुर्जोका बिरुवाका साथै यसबाट बनेका धुलो र चिया वितरण गर्दै आउनुभएको छ । कोरोना महामारी बढेसँगै गुर्जोबाट बनेका धुलो र चियाको माग पनि बढ्ने गरेको जनाइएको छ ।