महिलाको सिक्री लुटपाट गर्ने ज्ञानेन्द्र पक्राउ

रामेछाप खबर संवाददाता

२३ साउन, काठमाडौं ।

नेपाल प्रहरीले सिक्री लुटपाट गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले सिक्री लुटपाट गरी भाग्दै गरेका अवस्थामा काठमाडौँ माछापोखरी बस्ने सुनसरी धरान उपमहानगरपालिका–८ का २८ वर्षीय ज्ञानेन्द्र सेञ्चुरीलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ ज्ञानेन्द्रले काठमाडौँको माछापोखरी बस्ने नुवाकोटकी ५९ वर्षीया एक महिलाले घाँटीमा लगाएको पहेँलो धातुको सिक्री लुटेर फरार भएका थिए । उनलाई प्रहरीले टोखा नगरपालिका–८ जाल्पाचोकबाट पक्राउ गरेको हो । प्रहरीले ज्ञानेन्द्रसँग तीन थान सिक्रीसमेत बरामद गरेको छ ।

हुण्डीमार्फत कारोबार गरेको अभियोगमा मुद्दा दायर
राजस्व अनुसन्धान विभागले गैरकानूनीरुपमा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।
विभागका अनुसार नुवाकोट ककनी–३ का नवराज ढुङ्गाना र फणिन्द्रप्रसाद ढुङ्गाना, भिरकोटगढी–११ नुवाकोटका सुवासजङ्ग पाण्डे र नुवाकोट ककनी स्थायी घर भई जापानमा रहेका प्रज्ज्वल ढुङ्गानाविरुद्ध आज मुद्दा दायर गरिएको हो ।

केही समय पहिले प्रहरीले नवराज ढुङ्गानालाई स्रोत नखुलेको रु ६९ लाख ९९ हजार बराबरको रकम पक्राउ गरेको थियो । उहाँले पैसाको स्रोत खुलाउन सक्नुभएको थिएन । सोही आधारमा अध्ययन गर्दै जाँदा प्रहरी अवैध हुण्डी कारोबार भएको निष्कर्ष निकालेको थियो । विभागले बिगोबमोजिमको रकम जफत गरी दोषीमाथि कानुनअनुसार कारवाही गरिपाउँ भन्दै मुद्दा दायर गरेको हो ।

अपमानजनक शब्द प्रयोग गरी जारी नागरिकता सच्याउन गृहको निर्देशन
गृहमन्त्रालयले अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिका नाममा र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज विज्ञप्ति गर्दै विभिन्न जिल्लाबाट जारी भएका नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्दा अपमानजनक शब्द राखी जारी भएको सम्बन्धमा प्रकाशित समाचार, सूचना र जानकारीप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउन व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।