कति पुग्यो सुनको मूल्य ?

रामेछाप खबर संवाददाता

२३ साउन, काठमाडौं ।

सोमबार (आज) स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ । गत कारोबार दिन ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा नै कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको सोमबारको तुलनामा आज सुनको मूल्य ९०० रुपैयाँले वृद्धि भएको हो । गत सोमबार सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य एक सातामा १५ रुपैयाँ घटेको छ । गत साताको सोमबार प्रतितोला एक हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार २०५ मा कारोबार भएको छ । आज चाँदी गत कारोबार दिनकै मूल्यमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

बैतडीमा मतदाताको सङ्ख्या एक लाख ५१ हजार पुग्यो
बैतडीमा दुई हजार आठ सय आठ नयाँ मतदाता थपिएका छन् । गत असार १ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावलीमा ती मतदाता थपिएकाहुन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय हाटमा गरी तीन स्थानमा नामावली संकलनको काम थालिएको थियो । जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर तर्कराज जोशीका अनुसार जिल्ला प्रशासन कार्यालय एक हजार आठ सय २९, जिल्ला निर्वाचन कार्यालय दुई सय ९० र इलाका प्रशासन कार्यालय हाटमा छ सय ८९ नयाँ मतदाता थपिएका हुन् । यसका साथै आठ बाहिरका मतदाताले पनि नाम दर्ता गराएका छन् ।

योसँगै जिल्लामा मतदाताको सङ्ख्या एक लाख ५१ हजार चार सय १४ पुगेकोछ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बैतडीमा एक लाख ४८ हजार छ सय छ मतदाता रहेका थिए । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न १६ वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकले सक्नेछन् । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता नागरिकता प्राप्त गरेसँगै १६ वर्षमा हुने भए पनि मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनुपर्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयाँलले जानकारी दिनुभयो ।

सरकारले मङ्सिर ४ मा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै मतदाता नामावली सङ्कलन कार्य स्थगित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।