व्यासमा मंगलबार सार्वजनिक बिदा

रामेछाप खबर संवाददाता

२३ साउन, काठमाडौं ।

तनहुँको व्यास नगरपालिकाले विश्व आदिवासी जनजाति दिवसको अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगर कार्यपालिकाको बसेको बैठकले विश्व आदिवासी जनजाति दिवसको अवसरमा साउन २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । उक्त दिन नगरपालिकाकाअन्तर्गतका अत्यावश्यक सेवा बाहेकका कार्यालय बन्द रहने नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए ।

आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले उक्त दिन जिल्लाका १० वटै पालिकामा विविध कार्यक्रमको आयोजना गरी दिवस मनाउँदैछ । नगरपलिकाले उक्त दिन सार्वजनिक बिदा दिएकामा परिषद्की अध्यक्ष वसुन्धरा घर्तीले धन्यवाद ज्ञापन गरे ।

कार्यपालिका बैठकले चालु आर्थिक वर्ष २०७९/८० का बजेट कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि वार्षिक कार्ययोजना निर्माण गर्न प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलालाई जिम्मा दिने निर्णय गरेको छ । नगरपालिका भित्रका सामुदायिक माध्यमिक विद्यालयका अध्यक्ष, प्रधानाध्यापक, संस्थागत माध्यमिक विद्यालयका प्रधानाध्यापकको संयुक्त बैठक राखी एसइईको नतिजाको विश्लेषण गर्ने निर्णय गरिएको प्रवक्ता गुरुङले बताए ।

व्यास नगरपालिकाको मूल कार्यालयमा शुल्क नलाग्ने टेलिफोन कल सेन्टर र सबै वडामा सेवाग्राहीलाई आवश्यक निवेदन, फोटोकपी सेवा भदौ १ गतेदेखि निःशुल्क प्रदान गर्ने निर्णय गरिएको छ । बैठकले महालेखा परीक्षक कार्यालयबाट प्राप्त आव २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन कार्यपालिका बैठकमा छलफल गरी बेरुजु फछ्र्यौट अभियानलाई तदारुकता दिन सम्बन्धित अधिकारीलाई निर्देशन दिएको छ ।

यो पनि..घरमै निःशुल्क स्वास्थ्य सेवा
गोरखाको भीमसेन थापा गाउँपालिकाभित्रका एक हजार भन्दा बढी ज्येष्ठ तथा अशक्त नागरिकले घरमै निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका छन् ।

गाउँपालिकाले सुरु गरेको ज्येष्ठ तथा अशक्त नागरिक घरदैलो स्वास्थ सेवा कार्यक्रमबाट पालिकाभित्रका एक हजार एक सय दुई जना लक्षित वर्गले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवा लिएकामध्ये छ सय ५६ महिला र चार सय ४६ पुरुष रहेको उहाँले बताउनुभयो । त्यसबाहेक स्वास्थ उपचार सेवा लिएकामा थाइराइड, मुटुरोग तथा मिर्गाैला रोगका समस्या भएकाहरु समेत रहेको पाइएको उहाँले बताउनुभयो । कार्यक्रम अन्तर्गत असार महिनामा पहिलो पटक पालिकाभित्रका सबै वडामा पुगेर स्वास्थ्य परीक्षण गर्दा ज्येष्ठ तथा अशक्त नागरिकमध्ये २६८ जनामा उच्च रक्तचाप भएको पाइएको स्वास्थ्य शाखा प्रमुख खनालले बताउनुभयो । त्यसबाहेक लक्षित अन्य ६०५ जनाको पनि स्वास्थ्यपरीक्षण गरिएको शाखा प्रमुख खनालले बताउनुभयो ।

“अबदेखि हरेक महिना निरन्तर ज्येष्ठ तथा अशक्त नागरिक घरदैलोमा पुगेर नियमित स्वास्थ्यपरीक्षण गछौँ”, उहाँले भन्नुभयो । नियमित रुपमा औषधि सेवन गर्नुपर्ने बिरामीलाई आवश्यकता आधारमा औषधिसमेत उपलब्ध गराउने व्यवस्था गरिएको छ । कार्यक्रमबाट पालिकाभित्र बसोबास गर्ने ज्येष्ठ तथा अशक्त नागरिकको पहिचानसँगै उहाँहरुको स्वास्थ्य अवस्था नियमित जानकारी लिन सजिलो भएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराको भनाइ छ ।