ज्वाइँले सासु र श्रीमतीलाई मट्टितेल छर्केर आगो लगाए, दुबैको अवस्था गम्भीर

रामेछाप खबर संवाददाता

२२ साउन, काठमाडौं ।

सांकेतिक तस्विर।
महोत्तरीको भंगहामा ज्वाइँले सासु र श्रीमतीलाई हत्या गर्ने उदेश्यले मट्टितेल खन्याएर आगो लगाएका छन् । जलेर गम्भीर भएका दुबैजनाको जनकपुरधाममा उपचार सम्भव नभएपछि काठमाडौं ल्याईदैछ ।

जिल्लाको भंगहा नगरपालिका-१ कञ्चजनवनमा घरायसी विवादमा ज्वाइँले वृद्ध सासु र श्रीमतीलाई शनिबार मध्यराति मट्टितेल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ । ६५ वर्षीया रेसमादेवी सदा र ३५ वर्षीया प्रमिलादेवी सदालाई औरही नगरपालिका–८ का शंकर सदाले आगो लगाएका हुन् । दुबैको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं रेफर गरेको प्रादेशिक अस्पतालले जनाएको छ । आगो लगाउने शंकर भागेका छन् । उनी वैदेशिक रोजगारबाट फर्केपछि एक वर्षदेखि ससुरालीमै बस्दै आएका थिए ।

यो पनि…बैतडीका आठ स्थानीय तह पहिराको उच्च जोखिममा
बैतडीका आठ स्थानीय तह पहिरोको उच्च जोखिममा परेका छन् । जिल्लाको दशरथचन्द, मेलौली र पुरचौंडी नगरपालिकाका साथै पञ्चेश्वर, शिवनाथ, सिगास, दोगडाकेदार र डिलाशैनी गाउँपालिका पनि पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाले आठ ओटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका देखाएको थियो । जिल्लाको सुर्नया गाउँपालिका र पाटन नगरपालिका पहिरोको मध्य जोखिममा रहेका छन् ।

यस्तै जिल्लाका ती स्थानीय तहमा बाढीको समेत जोखिम रहेको उल्लेख गरिएको छ । सिगास, दोगडाकेदार र डिलाशैनी गाउँपालिकामा अन्य तहको तुलनामा बाढीको जोखिम रहेको बताइएको छ । त्यहाँको स्थानलाई विगतका वर्षमा पहिरो र बाढीले गरेको क्षति र विभिन्न सर्वेक्षणका आधारमा उच्च र मध्यजोखिम भनेर छुट्याइएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ उच्च र मध्य जोखिम छुट्याइएका छौँ, सोही आधारमा सम्बन्धित स्थानीय तहलाई पूर्वतयारी गर्न भनिएको छ । साथै सुरक्षित स्थानको पहिचान पनि गर्न आग्रह गरेका छौँ । ”

वर्षात्को समयमा विपद्का घटना हुनसक्ने भएकाले सम्भावित घटनाबाट जोगिनका लागि आवश्यक उपाय अपनाउन जिल्ला प्रशासन कार्यालयले जोड दिएको छ । पहिरोका कारण विगतमा जनधनको क्षति भएकामा अहिले पनि पहिरोको जोखिम बढिरहेकोले सतर्क हुन आग्रह गरिएको छ । गत वर्षमात्रै जिल्लामा पहिरोमा परेर चार जनाको मृत्यु भएको र करोडौँको सम्पति र कृषिबालीमा क्षति पुगेको थियो ।