नेपालामा कति पुग्यो सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ?

रामेछाप खबर संवाददाता

२२ साउन, काठमाडौं ।

देशभर पछिल्लो २४ घण्टामा पाँच सय ५३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार सात सय ८९ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ४० जनाले पिसीआर र एक हजार सात सय ४९ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सो अवधिमा चार सय ३३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७२ हजार चार सय ९७ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार छ सय ५९ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ७१ पुगेको छ । होम आइसोलेशनमा पाँच हजार पाँच सय सात, संस्थागत आइसोलेसन एक सय ५२, आइसीयू ४५ र भेन्टिलेटरमा तीन जना सङ्क्रमित रहेका छन् ।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् भने तथा दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा कास्की र मोरङ रहेका छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, कालिकोट र हुम्ला रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा तीन हजार १० र ललितपुर सात सय ७८ र भक्तपुरमा ९६ सक्रिय सङ्क्रमित रहेका छन् । कुल सङ्क्रमणदर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

एक हप्तामा १७ हजार सवारी चालक कारबाहीमा
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एक हप्तामा १७ हजार ४९३ सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई काठमाडौँ उपत्यका ट्राफिक तथा त्यस मातहतका कार्यालयले कारबाही गरेको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा बढी कारबाहीमा मादक पदार्थ सेवन गरी सवारी चालक छन् । यही साउन १५ देखि २१ गतेसम्ममा मादकपदार्थ सेवन गरी सवारी चलाउनेको सङ्ख्या एक हजार ७४ छ ।

ट्राफिक प्रहरी कार्यालयले कारबाहीमा पर्ने सवारी चालकको वर्गीकरण गर्दै सूची बनाउने गरेको छ । मापसे गरी सवारी साधन चलाउने एक हजार ७४, लेन मिच्ने ६५९, रेड लाइटमा सवारी चलाउने ५७४, जथाभावी रुपमा नम्बर प्लेट बनाउने २४२ र अन्य गरी १४ हजार ९४४ चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

तथ्याङ्क अनुसार शुक्रबार मादकपदार्थ सेवन गरी सवारी साधन चलाउनेको सङ्ख्या सबैभन्दा बढी छ भने सोमबार सबैभन्दा कम छ । शुक्रबार मादकपदार्थ सेवन गरी सवारी चलाउने २३२ तथा सोमबार ११५ चालक रहेका छन् ।