आज घट्यो सुन-चाँदीको मूल्य, कति पुग्यो तोलाको ?

रामेछाप खबर संवाददाता

२२ साउन, काठमाडौं ।

आज आइतबार सुन-चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ८०० र तेजाबी सुनको मूल्य ९६ हजार ३०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मुल्य पनि घटेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको जानकारी दिएको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २०५ रुपैयाँ छ । जुन, गत शुक्रबार १ हजार २२० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

यो पनि..पनौतीमा प्रादेशिक गुरुकुल स्थापनार्थ पहल
पनौतीमा प्रदेशस्तरको गुरुकुल स्थापनार्थ स्थानीयले पहल थालेका छन् । गुरुकुल शिक्षाप्रति चासो राखेका उनीहरुले काभ्रेपलाञ्चोकको पनौतीमा प्रदेशस्तरको गुरुकुललाई संस्थागत गर्न भेलाको आयोजना गरी निर्णयसमेत गरेका छन् ।

पनौतीस्थित त्रिवेणीघाट सत्तलमा १६ वटुक अध्यापन गरिरहेका गरुकुललाई संस्थागत गरी निर्णयसहित प्रक्रिया अघि बढाउन थालिएको स्थानीय युवा पण्डित अच्युत भट्टराईले जानकारी दिनुभयो । उहाँले गुरुकुललाई प्रदेशस्तरमा विकास गर्न सबै पक्षको सहयोग लिई अघि बढ्ने योजना बनाइएको बताउनुभयो ।

गुरुकुलमा अध्ययनरत वटुकलाई कर्मकाण्ड र धर्म मात्रै नभई आधुनिक शिक्षाको ज्ञान–सीप प्रदान गरिने जनाइएको छ । यस्तै सो गुरुकुलबाट उत्पादित जनशक्ति विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने गरी शिक्षालाई व्यवस्थित गर्न सोही अनुसारको शिक्षा पहिचान गरिएको पण्डित भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय गुरुकुल शिक्षाप्रति आकर्षण बढ्न थालेकाले स्थानीयको पहलमा पनौतीमा प्रदेशस्तरको गुरुकुल स्थापना गर्ने निर्णय गरेका हौँ ।”

ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थल पनौतीलाई सनातन वैदिक धर्म र हिन्दू संस्कारलाई जगेर्ना गरी पुण्य भूमिका रुपमा नगरलाई पहिचान दिलाउने उद्देश्यले गुरुकुल स्थापना गर्न लागिएको स्थानीय व्यवसायी प्रदीप बोगटीले बताउनुभयो । “गरुकुल स्थापनार्थ सबै प्रकारको सहयोग गर्न तत्पर छौँ”, उहाँले भन्नुभयो ।

यस्तै नेपाली कांग्रेसका नेता तीर्थ पसखलले परम्परा, संस्कृतिको संरक्षण गर्न, धार्मिक जागरण ल्याउन सबैको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्थानीयले गुरुकुल स्थापनार्थ स्थानीय तथा प्रदेशस्तरका जनप्रतिनिधिको साथ–सहयोग लिन सुझाव दिएका छन् ।