घर-जग्गा धितो ऋण १० प्रतिशत घट्यो, यस्तो छ नयाँ सीमा

रामेछाप खबर संवाददाता

काठमाडौं ।

नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति मार्फत घर-जग्गा धितोमा कायम गरेको ऋणको नयाँ सीमा बुधवारबाट कार्यान्वयनमा आएको छ। राष्ट्र बैङ्कले सबै वर्गका वित्तीय संस्थालाई बुधवार एकीकृत निर्देशिका पठाएर मौद्रिक नीतिमा रहेको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो। अब काठमाडौँ उपत्यकाको हकमा जग्गा धितोबाट पाइने ऋणको सीमा ३० प्रतिशत र काठमाडौँ उपत्यका बाहिरको हकमा ४० प्रतिशत भएको छ।

बैङ्कको एकीकृत निर्देशिकामा घरजग्गा धितो राखी नयाँ कर्जा प्रवाह गर्दा, थप कर्जा दिँदा वा कर्जा नवीकरण गर्दा यो नीति लागु हुनेछ। यसअघि काठमाडौँ उपत्यकाको हकमा ४० प्रतिशत र अन्यको हकमा ५० प्रतिशत थियो। नयाँ मौद्रिक नीतिले थप १० प्रतिशत घटाएको हो।

सोलुखुम्बुमा महिलाको नाममा जग्गा पास गराउने घटे
सोलुखुम्बुमा महिलाका नाममा घर/जग्गा पास (लिखत) गराउनको संख्या २५ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/७९ मा घर/जग्गा पास गर्ने महिलाको संख्या २५ प्रतिशतले घटेको मालपोत कार्यालय सोलुखुम्बुले जनाएको छ।

कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/०७८ मा १४ सय १ जनाले जग्गा पास गराएकोमा ५३२ जना महिला रहेका थिए। तर गत आर्थिक वर्षमा १३ सय ७५ जनाले जग्गा पास गराउँदा ४०१ जना मात्रै महिला रहेका छन्। जुन अघिल्लो आर्थिक वर्षको भन्दा संख्यात्मक हिसाबले १३१ जना अर्थात २५ प्रतिशतले कमि हो।

गत आर्थिक वर्षको साउनमा ४७ पुरुष र २० महिला, भदौमा ३६ पुरुष र २८ महिला, असोजमा ७७ पुरुष र ३९ महिला, कार्तिकमा ६४ पुरुष र २१ महिला, मंसिरमा ११० पुरुष र ५४ महिला र पुसमा ११३ पुरुष र ४१ जना महिलाको नाममा जग्गा पास भएको छ। यस्तै माघमा ११३ पुरुष र ३७ महिला, फागुनमा १४३ पुरुष र ४९ महिला, चैत्रमा ९४ पुरुष र ३४ महिला, बैशाखमा ४९ पुरुष र २३ महिला, जेठमा ७९ पुरुष र ३९ महिला र असारमा ४५ पुरुष र १६ जना महिलाले आफ्नो नाममा जग्गा पास गराएको मालपोत अधिकृत पदम प्रसाद अर्यालले जानकारी दिए।

जसबाट ३१ लाख ८० हजार ४७३ रुपैयाँ राजस्व छुट भएको अधिकृत अर्यालले बताए। सरकारले महिला र दलितको नाममा घर जग्गा पास (लिखत) गर्दा २५/२५ प्रतिशत राजस्व छुट दिने व्यवस्था गरेको छ।