विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द !

रामेछाप खबर संवाददाता

२० साउन, काठमाडौं ।

धेरै विद्यार्थी बिरामी भएपछि जुम्लाको तिला गाउँपालिका–६ घोडेगाउँस्थित जनजागृति माध्यमिक विद्यालय बन्द भएको छ । विद्यालयका ८८ जनामा नमुना परीक्षण गर्दा एकजना छात्र, एकजना छात्रा गरी दुईजना विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । त्यस्तै, धेरै विद्यार्थीमा खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेलगायत लक्षण देखिएकोे प्रधानाध्यापक जयलाल रोकायाले बताए । विद्यार्थीहरू एक सातादेखि बिरामी परेपछि विद्यालय प्रशासनले पालिकाको स्वास्थ्य शाखासँग परीक्षणको माग गरेको थियो । र, परीक्षणका क्रममा दुई विद्यार्थी संक्रमित भेटिए । यसक्रममा गाउँपालिकाका एक स्वास्थ्यकर्मीमा पनि संक्रमण देखियो ।

प्रधानाध्यापक रोकायाले विद्यालयमा कोरोना संक्रमण देखिएपछि गाउँमा त्रास फैलिएको बताए । ‘संक्रमित राख्नका लागि क्वारेन्टिनको व्यवस्था छैन,’ उनले भने, ‘आ–आफ्नो घरमा सुरक्षित रहन भनिएको छ ।’ कोरोना परीक्षणका लागि सबै विद्यार्थीलाई विद्यालयमा बोलाइएको भए पनि गम्भीर बिरामी परेका विद्यार्थी आउन नसकेको उनले बताए । जनजागृति मावि घोडेमा दुई सय २२ जना विद्यार्थी छन् । कोरोना देखिएपछि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न थालिएको छ ।

वडाध्यक्ष जंगबहादुर रोकायाका अनुसार धेरैजसो शिक्षक र विद्यार्थी रुघाखोकी र ज्वरोले ग्रसित छन् । सबै शिक्षक र विद्यार्थी बिरामी भएकाले पठनपाठन प्रभावित बनेको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जिल्लामा कोरोना संक्रमित भेटिएको जानकारी पाएको बताइन् । उनले भनिन्, ‘जनस्वास्थ्य सेवा कार्यालय जुम्लासँग समन्वय गरेर अघि बढ्दै छौँ । त्यहाँको अवस्था बुझ्दै छौँ ।’ यसअघि हिमा गाउँपालिकाको महावैपातर खोलामा रहेको विद्यालयमा एकजना संक्रमित भेटिएका थिए ।

यो पनि…काठमाडौँ विश्वविद्यालयमा स्नातकोत्तर तहमा सञ्चार अध्ययन
काठमाडौँ विश्वविद्यालयले स्नातकोत्तर तहमा सञ्चार अध्ययन (मास्टर्स इन मिडिया स्टडिज) कार्यक्रम सुरु गरेको छ । विगत १६ वर्षदेखि सो विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्दै आएको विश्वविद्यालयको मानविकी सङ्कायअन्तर्गत भाषा तथा आमसञ्चार विभागले यसै शैक्षिकसत्रदेखि सञ्चार उद्यमशीलता, व्यवस्थापन र विशिष्टताका आयामहरू अध्यापनका लागि स्नातकोत्तरको भर्ना आह्वान गरिएकोे विभागका प्रमुख डा सुधाम्शु दाहालले जानकारी दिनुभयो । एक शैक्षिकसत्रमा २० विद्यार्थीसम्म रहने यो तहमा एसियाको मौलिक परम्परा, संस्कृति, चलचित्र र प्रविधिलाई आधारशीला मानेर सञ्चारमाध्यमका विभिन्न आयामको अध्ययन हुनेछ ।

विश्वविद्यालयका सहप्राध्यापक डा निर्मलमणि अधिकारीले उक्त तहमा एक चौथाइ अनुसन्धानसहित प्राविधिक सीप र सैद्धान्तिक ज्ञानको समिश्रण हुने र उत्पादित जनशक्ति अन्तार्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने र रोजगारमूलक हुने बताउनुभयो । सो तहमा अध्ययनका लागि रु चार लाखसम्म शुल्क लाग्ने र कुल विद्यार्थीको २० प्रतिशतसम्म छात्रवृत्ति दिइने दाहालले बताउनुभयो ।