आज यी स्थानामा मेघगर्जनसहित वर्षाको सम्भावना

रामेछाप खबर संवाददाता

२० साउन, काठमाडौं ।

देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेकाले अबको दुई÷तीन दिन मनसुन कमजोर भई वर्षा कम हुने विभागले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा, प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा प्रदेश नं १ र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

शनिबार देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २६ दशमलव छ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव चार डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३३ दशमलव आठ डिग्री सेल्सियस छ ।

यो पनि…अवरुद्ध बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो
कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकखण्ड तीन दिनपछि बिहीबार साँझदेखि सञ्चालनमा आएको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडक काभ्रेभिरमा गएको सुक्खा पहिराका कारण गत सोमबारदेखि अवरुद्ध बनेको थियो ।

अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरमा सुक्खा पहिरो गएको र सोही स्थानको घोप्टे ओढारमा सडक भासिएपछि अवरुद्ध बनेको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको हो । सडक सञ्चालन भएसँगै सवारीसाधन ओहोरदोहोर गर्न थालेका बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । बीच बाटोमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । पहिराले काभ्रेभिरमा तीन मिटर सडक पुरिएको थियो भने सोही स्थान नजिकको घोप्टेभिरमा करिब ५० मिटर सडक भासिएको थियो ।

मौसममा सामान्य सुधार आएपछि बुधबारदेखि सडक मर्मतको काम थालिएको छ । सडक स्तरोन्नतिमा परिचालन गरिएको निर्माण कन्स्ट्रक्सनका उपकरण र जनशक्ति परिचालन गरेर बेनी–जोमसोम सीधा यातायात सञ्चालनमा ल्याइएको सुपरभाइजर शेरचनले बताउनुभयो । काभ्रेभिरमा सडक अवरुद्ध हुँदा पैदलयात्री पैरोथाप्लाको पदमार्ग हुँदै घुमाउरो बाटोबाट यात्रा गर्न बाध्य थिए ।

वर्षाका कारण खोलामा आएको बाढीले म्याग्दीको बेगखोलामा समेत अवरुद्ध भएको सडकलाई खुलाइएको छ । वर्षात्को समयमा गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डको विभिन्न स्थानमा बाढीपहिराले सडक अवरुद्ध हुने गरेको छ ।

बेनी–जोमसोम ७६ किमी सडकको म्याग्दी खण्ड बर्खाको समयमा बाढीपहिराको उच्च जोखिम छ । म्याग्दी–काभेभिर सडकको सिमानाको बाँदरजुँगे भिर आसपासमा छिनछिनमा खस्ने पहिराले यात्रुले जोखिममा पर्ने गरेका छन् । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत विस्फोटक पदार्थको प्रयोगका कारण पहिराको जोखिम अत्यधिक छ ।