नेपालबाट शून्य लागतमा जापानमा कामदार पठाउन तयारी सुरु हुँदै

रामेछाप खबर संवाददाता

१९ साउन, काठमाडौं ।

नेपालबाट शून्य लागतमा जापानमा कामदार पठाउन तयारी सुरु भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेकामध्ये ८ सय ५० जनालाई जापान पठाउने तयारी गरेको हो । अहिले जापानको प्रक्रिया रोकिए पनि परीक्षा भने सञ्चालन भइरहेको छ । अहिलेसम्म झन्डै ५ हजार ३ सय जनाले जापानिज भाषा र सीप परीक्षा पास गरेका छन् । जापानले विशिष्टीकृत दक्ष मोडल (एसएसडब्ल्यू) बाट कामदार लैजानेछ ।

सन् २०१९ मा नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी नेपाल र जापानबीच श्रम समझदारी भएको थियो । श्रम समझदारीअनुसार नेपाली युवालाई जापानको श्रम बजार प्रवेशमा सहजीकरण गर्ने उद्देश्यले आज संयुक्त कार्यसमितिको बैठक बस्दैछ । काठमाण्डौमा हुने बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलको नेतृत्वमा परराष्ट्र र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सहभागी हुनेछन् ।

जापान सरकारका तर्फबाट त्यहाँका सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा जापानी प्रतिनिधिमण्डल बैठकमा सहभागी हुने श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिनुभयो । बैठकले नेपाली नागरिकलाई जापानमा रोजगारी दिने सन्दर्भमा छलफल गरी उपयुक्त निर्णयका लागि दुवै देशका सरकारलाई सिफारिस गर्ने उहाँले बताउनुभयो । संयुक्त कार्यसमितिको पहिलो बैठक सन् २०२० को नोभेम्बरमा भर्चुअल माध्यमबाट भएको थियो ।

यो पनि…विश्वकपका लागि कतारले नेपाली कामदार ल्याउने
फिफा विश्वकप २०२२ का लागि कतारले नेपालबाट कामदार ल्याउने भएको छ । नेपाल सरकारले कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि छोटो अवधिका लागि आवश्यक हुनसक्ने कामदार नेपालबाट लैजान अनुमति दिने निर्णय गरिसकेको दोहास्थित नेपाली दूतावासले जनाएको छ। यसका लागि आवश्यक प्रक्रिया पूरा गर्न इच्छुक रोजगारदाता कम्पनीहरूलाई दूतावासको श्रम शाखामा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छोटो अवधिका लागि कतार जाने कामदारहरूलाई श्रम स्वीकृति प्रदान गरेरै पठाउने तयारी थालेको छ। कतारका रोजगारदाताले विश्वकपका लागि नेपाली श्रमिक ल्याउन चाहेको जानकारी गराएपछि दूतावासले श्रम मन्त्रालयलाई पत्र लेखेको थियो। आगामी २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने विश्वकपका लागि विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ।